धरान: नेपाली कांग्रेस धरान उपमहानगरपालिका कमिटीले आफ्ना सभापति तथा धरान उपमहानगरपालिकाका मेयर तिलक राईको पेश्की बेरुजु प्रकरणमा ५ दिनपछि औपचारिक धारणा सार्वजनिक गरेको छ ।

कांग्रेसका उपसभापति महेन्द्र तामाङले आज प्रेश विज्ञप्ती जारी गर्दै पञ्चायतकालदेखिका जनप्रतिनिधिहरु, उपभोक्ता समिति, सामाजिक संघसंस्था, कर्मचारी र व्यक्तिविशेषको नाममा बेरुजु फछ्यौट नभएको प्रमाण हुँदा हुदै पनि भर्खर निर्वाचित मेयर तिलक राईको नाममा मात्र बेरुजु छ भन्ने पुर्वाग्रही समाचार प्रकाशित गरेर जनतालाई भ्रम फैलाउन खोजिएको बताएका छन् । यही असार २५ गते धरानबाट प्रकाशित हुने ब्लाष्ट टाइम्स दैनिकले मेयर राईको नाममा २ लाख ४१ हजार ५ सय पेश्की बेरुजु भएको समाचार प्रकाशित गरेको थियो ।

मेयर राईले २०६० सालमा गठन भएको बुद्ध चोक निर्माण तथा प्रतिमा अनावरण उपभोक्ता समितिको नाममा पेश्की लिएको र तत्कालिन अवस्थामा बुद्ध चोक क्षेत्र विस्तार, ड्रेन, फुटपाथ र पिचको काम सम्पन्न भैसकेको विज्ञप्तीमा उल्लेख छ । ‘वडाको स्थानीयबासी साथै सो उपभोक्ता समितिका पदाधिकारीहरु र सदस्यहरु सबैले निर्णय गरेको अभिलेख(माइन्युट) अनुसार निर्माण कार्य सम्पन्न भई सकेको विदितै छ, र उक्त निर्माण कार्यको लागि फछयौट प्रकृया यसअघि भईसक्नुपर्नेमा नगरपालिकाको प्राविधिक कारणबाट यस्तो बेरुजु हुन गएको देखिन्छ,’विज्ञप्तीमा भनिएको छ ।

प्रजातन्त्र र लोकतन्त्र स्थापना पश्चात र गत मंसिरको उपनिर्वाचन भन्दा अगाडि एउटै दलले धरानमा नेतृत्व गरिरहदा पनि बेरुजु उठाउन कुनै पहिल नगरिएको भन्दै कांग्रेसले नेकपालाई आरोपसमेत लगाएको छ । साथै, यसबारेमा गम्भीर छानबिन गरि सबै खाले बेरुजु तथा बाँकी बक्यौता उठाउन, फछ्यौट गर्न कांग्रेसले मागसमेत गरेको छ । कांग्रेसले नेकपाको नाम उल्लेख नगरे पनि बेरुजु रहेको रकम नेकपाबाट निवार्चित वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुको नाममा पनि रहेको र नगरापलिकाका कर्मचारीको नाममा पनि बेरुजु रहेको उल्लेख गरेको छ । कांग्रेसले विज्ञप्तीमा 'अन्य दल' भनेको छ ।

धरानको वडाअध्यक्षमा कांग्रेसबाहेक नेकपाबाट मात्र विजयी छन् भने कार्यपालिका सदस्यमा पनि कांग्रेसबाहेक नेकपाका मात्र छन् । ‘फछयौट गर्न बाँकी भई बेरुजु भएको अन्य दलबाट हालका निवार्चित वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु र नगरपालिकाका कर्मचारीलगायतको गरी करोडौं बेरुजु रहेको र प्रजातन्त्र÷लोकतन्त्र स्थापना पश्चात र गत मंसिरको उपनिर्वाचन भन्दा अगाडि एउटै दलले धरानमा नेतृत्व गरिरहदा पनि बेरुजु उठाउन कुनै पहिल नगरिएकोले यसबिषयमा गम्भीर छानबिन गरी,’विज्ञप्तीमा भनिएको छ,‘सबै खाले बेरुजु तथा बाँकी बक्यौताहरु उठाउन एवं फछ्यौट गर्न, गराउन नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’

congress