धरान: धरान वडा नं ४ मा ढुंगे कला पार्क बनाउन एक महिने कला क्याम्प शुरु भएको छ ।
वडा नं ४ कार्यालयको आयोजना र रोजन आर्ट स्टुडियोको कला संयोजनमा आज (शुक्रबार)देखि कला क्याम्प शुरु भएको हो । खैरेनीटारस्थित वडाको संरक्षणमा रहेको जग्गामा पुर्वको विभिन्न स्थानका एक दर्जन बढी कलाकारहरुले ढुंगामा आफ्नो कला प्रस्तुत गर्नेछन् ।
उक्त कला क्याम्पको एक कार्यक्रमबीच शुक्रबार धरानका मेयर हर्कराज राई (साम्पाङ)ले उद्घाटन गरेका थिए । कलाकार ध्रुवकुमार राईले ढुंगामा तयार गरेको नेपालको चुच्चे नक्सा र राष्ट्रिय गानको अनावरण गर्दै क्याम्पको उद्घाटन गरिएको थियो । मेयर साम्पाङले धरानलाई सुन्दर पार्कहरुको सहर बनाउन र पर्यटन विकासमा ढुंगे कला पार्कले पनि योगदान दिने बताए ।
कला क्याम्पको संयोजक वडा ४ का अध्यक्ष धनबहादुर राई भएपनि वडाको बजेट भने खर्च नहुने उनले बताए । कलाकारहरुलाई खाने, बस्ने र इन्टरनेटको व्यवस्थापन गरेको साथै टाढाबाट आउने कलाकारहरुलाई यातायात खर्च पनि दिइने अध्यक्ष राईले बताए । ‘कलाकारहरुको पनि श्रमदान नै हो । वडाको बजेट छैन । सहयोगी दाताहरुको सहयोगबाट नै बन्ने हो,’उनले भने,‘केही दाताहरुले पैसा पठाइपनि सक्नुभएको छ ।’
कला संयोजक रोजन आर्ट स्टुडियोका संस्थापक कलाकार रोजन राईका अनुसार कलाकारहरु सबैले एकैपटक नभै समय मिलाएर ढुंगामा कला प्रस्तुत गर्ने बताए । धरानलाई कला, सँस्कृतिप्रेमीको सहर बनाउन पनि कला क्याम्पले योगदान पुर्याउने उनले बताए ।
भिडियो:
भिडियो: