धरान: विभिन्न चार संगठन मिलेर संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ ।
मोर्चाले शुक्रबार धरान १२ स्थित होटल पुर्वीस्टारमा पत्रकार सम्मेलन गर्दै भविष्यमा नयाँ राजनीतिक दल निर्माण गर्ने पनि जनाएको छ । संयुक्त पहिचानवादी मोर्चामा प्रा.डा.महेन्द्र लावती संयोजक रहेको पहिचानवादी मोर्चा, केपी पालुङ्वा अध्यक्ष रहेको नेपाल जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी प्रदेश नं १ समिति र प्रदेश नं १ पुनः नामाङ्कन अभियान समिति आवद्ध रहेको छ ।
यी चार संगठनहरुबीच डकेन्द्रसिंह थेगिम संयोजक, मधुराज केरुङ सदस्य सचिव र केदार धिमाल सदस्य रहेको एकीकृत शक्ति निर्माण अन्तर संवाद समितिको सहजीकरणमा हिजो पुष ११ गते धरानमा बैठक भएको थियो । उक्त बैठकले नयाँ दल निर्माणसम्मको लागि चक्रिय प्रणालीको आधारमा डकेन्द्र सिंह थेगिमको संयोजकत्वमा मोर्चाको ४ सदस्यीय अध्यक्ष मण्डल निर्माण गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
सोही बैठकले नयाँ दलको विचारधारा, कार्यदिशा, सांगठनिक संचरनालगायतबारे छलफल गर्दै टुंगो लगाउन कार्यदल पनि निर्माण गरेको छ । उक्त कार्यदलमा राष्ट्रिय मुक्ति पार्टीको पनि प्रतिनिधित्व रहनेसाथै देशैभरि टोलतहसम्म एक संयोजक, सहसंयोजकहरु, एक सदस्य सचिव र विभिन्न विभागहरुसहितको संयुक्त पहिचानवादी मोर्चा गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले मोर्चाको तर्फबाट मुक्कुमलुङ आन्दोलन परिचालन समिति संयोजकमा रामभक्त कुरुम्बाङ, सहसंयोजकहरु सरु सिंघक र दिलेन्द्र कुरुम्बाङ, कोशी नामकरण विरुद्ध आन्दोलनमा मोर्चाको तर्फबाट आन्दोलन परिचालन समिति संयोजक केपी पालुङ्वा, सहसंयोजकहरु जेन्टल लावती, केदार धिमाल, गजेन्द्र पालुङ्वा, धनबहादुर पन्धाक चयन गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पहिचानवादी मोर्चाका संयोजक प्रा.डा.थेगिमले एकीकृत शक्ति निर्माण हुने जिकिर गरे ।
भिडियो: