धरान: पटके कर ठेक्काको बिषयमा केराबारी गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षभित्रै हतियार प्रहार भएको छ ।
हतियार प्रहारबाट अध्यक्ष रोहितबहादुर कार्की गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको सई दिपक बरालले जानकारी दिए । उनलाई चक्कु प्रहार गरेको सई वरालको भनाई छ, तर गाउँपालिका अध्यक्षकै गार्डको खुकुरी खोसेर पनि प्रहार गरेको हुनसक्ने उनले बताए । अध्यक्षलाई हतियार प्रहार गर्ने भवन ठकुरीलाई पक्राउ गरिएको पनि उनले बताए । ‘अहिलेसम्म गाउँपालिका अध्यक्षलाई टाउकोमा चक्कु प्रहार भएको हो भन्ने खुलेको, उहाँलाई नोबल हस्पिटल पठाइएको छ,’सई वरालले भने,‘अध्यक्षलाई आक्रमण गर्नेलाई पक्राउ गरिएको छ ।’
सई वराललका अनुसार ठकुरीले आफुसँगै भएको चक्कुले शुरुमा आक्रमण गरेका थिए । त्यसपछि, अध्यक्षकै गार्डको साथमा भएको कुखुरी पनि खोसेर आक्रमणको प्रयास गरेको गार्डले जानकारी दिएको वरालले बताए । ‘पहिला चक्कुले हान्यो र पछि गार्डको खुकुरी खोस्यो । तर खुकुरीले हान्न नपाई नै खोसेको भनेर गार्डले भन्छ,’साई वरालले भने,'खुकुरी प्रहार भयो भएन भनेर थप अनुसन्धान हुन्छ । ।' पक्राउ परेका ठकुरीलाई इलाका प्रहरी कार्यालय बेलबारी पठाइएको छ ।
ठेक्काको बिषयमा चक्कु प्रहार
प्रहरीका अनुसार ठकुरी पटके करका ठेकेदार हुन् । उनको गत आर्थिक बर्षको असार ३१ गते म्याद सकिएको थियो । त्यसपछि, गाउँपालिका आफैले साउन १ गतेदेखि कर संकलन गर्न थालेको थियो । तर, ठकुरी भने आफैले ठेक्का पाउनुपर्ने भन्दै गाउँपालिका अध्यक्षलाई भेट्न गएका थिए । ‘मैले नै ठेक्का पाउनुपर्छ भनेर गएको रहेछ । कुराकानी हुदै गर्दा एक्कासी चक्कुले हानेछ,’सई वरालले भने ।