धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक यही साउन ३० गते तय भएको छ । बैठक आउन ५ दिन मात्र बाँकी हुँदा सिनेट सदस्यसमेत रहेका धरानका मेयर तिलक राईले बैठक स्थगित गर्न माग गरेका छन् ।
प्रतिष्ठानको सञ्चालक परिषद(सिनेट)मा धरानका मेयर पदेन सदस्य रहने व्यवस्था छ । सोही व्यवस्था अनुरुप मेयर राई पनि सिनेट सदस्य छन् । उनलाई बैठकको पत्र प्राप्त भइसकेको छ । तर, सिनेट सदस्य तथा मेयर राईले भने आज (आइतबार) स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकाललाई पत्र पठाउदै बैठक तत्काल स्थगित गर्ने निर्देशन दिनको लागि माग गरेका हुन् ।
मेयर राईले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको, साथै धरान उपमहानगरपालिकाले पनि साउन २८ गते मध्यरातीसम्म लकडाउन गरेको कारण साथै धेरै मानिसहरु आवतजावत, भिडभाड गर्न नहुने बिषम परिस्थिति भएकोले बैठक स्थगित गर्नुपर्नेमा माग गरेका छन् । धरान उपमहानगरपालिका र वीपी प्रतिष्ठानले निरन्तर प्रयास गरेपनि नकोरोना संक्रमणको उपचार तथा व्यवस्थापनमा र संक्रमण न्युनीकरणमा जनअपेक्षा अनुसार उपलब्धी हासिल नभएको पनि पत्रमा उल्लेख छ ।
यस्तै, आइसोलेसन बेडको अभाव भएको र उद्घाटन भए पनि कोभिड १९ अस्पताल अहिलेसम्म सञ्चालन नभएको पनि पत्रमा उल्लेख गरिएको छ । उनले यसअघिको सिनेट बैठकमा उपमहानगरपालिकाले लिखितरुपमा ध्यानाकर्षण पत्र राखे पनि परामर्श तथा छलफल नभएको पनि उल्लेख गरेका छन् । सिनेट बैठको अध्यक्षता सहकुलपतिको हैसियतले स्वास्थ्यमन्त्रीले गर्ने गरेका छन् । बैठक सहकुलपतिको आवश्यक निर्देशनमा उपकुलपतिले मिति तय गरेर बोलाउने गरिएको छ ।