धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको छाताचोकस्थित पुरानो धरान अस्पतालको जग्गा व्यापारीलाई जिम्मा लगाउने प्रपञ्च भएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेवि संघले घोर भत्र्सना गरेको छ ।
दवै संगठनले बिहिबार धरान १८ बुद्धचोकस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै स्थानीय निकाय र सरोकारवालाहरुसँग कुनै समन्वय नगरी उपकुलपित र स्वास्थ्य मन्त्रीको स्वार्थमा भएको यो प्रपञ्च तत्काल रोक्न पनि माग गरेका छन् । यस्तै, महामानव वीपी कोइरालाको स्मृतिमा निर्माणको प्रतिष्ठानको वृत्ति विकासको लागि जोडिएको सुन्दरहरैचामा नेकपा नेताको नाम जोड्न लागेकोप्रति पनि दुवै संगठनले भत्र्सना गर्दै तत्काल यो कार्य बन्द गर्न माग गरेको छ । यो कार्य नरोकिए कडा कदम चाल्ने पनि दुवै संगठनले चेतावनी दिएको छ ।
तरुण दलको नगर अध्यक्ष हिमाल श्रेष्ठले सुन्दर हरैचाको वीपीको जग्गामा मदन भण्डारी ट्रमा सेन्टर बनाउने प्रस्ताव कार्यकारिणी समितिबाट पास गरिसकेको भन्ने जानकारी पाएकोले यो कार्य तत्काल रोक्न माग गरे । ‘महान नेता वीपी कोइरालाको नाममा स्थापना भएको वीपी प्रतिष्ठानको नामको जग्गालाई अर्को सम्मानित नेताको नाम जोडेर असहज परिस्थिति सृर्जना गर्न खोजिएको छ, हामी सचेत गराउछौं र कडा निन्दा गछौं,’उनले भने,‘छाता चोकको जग्गा पनि आफ्नो स्वार्थपुर्तिको लागि व्यापारीलाई दिन लागेको छ, त्यसको विरुद्धमा पनि हामी कडा रुपमा उत्रनेछौं ।’
यस्तै, दुवै संगठनले व्यक्तिगत स्वार्थको लागि आह्वान गरिएको सिनेट बैठक तत्काल स्थगित गर्न पनि माग गरेकोछ । घरमा बस्नु परेका कोरोना पोजेटिभहरुलाई तत्काल आइसोलेसनमा भर्ना गर्न, मुख्यमन्त्री शेरधन राईबाट निरीक्षण, अनुगमन गरिएको कोभिड अस्पताल ४ महिना पुग्दा पनि सञ्चालन नगरिनुको कारण खोजेर दोषीलाई कारबाही गर्न, कोभिड अस्पताल आवश्यक कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाको प्रत्याभूतिसहित पुर्णसुविधा र क्षमतामा जनप्रतिनिधि, सांसद र विज्ञहरुको अनुगमन पश्चात तत्काल सञ्चालन गर्न पनि माग गरेको छ ।
रिहाव सेन्टरलाई कोभिड अस्पताल बनाएकोले रिहाव सेन्टरबाट सेवा लिइरहेका विरामीहरुलाई सेवा व्यवस्थापन गर्न, प्रतिष्ठानका शिक्षक, विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मीहरुर्लाइ संक्रमण अवधिभर प्रतिष्ठान हाताभित्रै सम्पुर्ण व्यवस्थापन गर्नलगायत १५ बुँदे माग पनि दुवै संगठनले अघि सारेको छ । यो मागहरु प्याकेजमा नै पुरा हुनुपर्ने वा पुरा गर्ने ग्यारेष्टी गर्नुपर्ने भन्दै तरुण दलका नगरअध्यक्ष श्रेष्ठले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पनि बताए । तर, अबको आन्दोलनको स्वरुप फेरिने र स्वास्थ्य सुरक्षालाई पनि मध्यनजर गर्दै आन्दोलन अघि बढाइने उनले बताए । पत्रकार सम्मेलन तरुण दलका क्षेत्र नं १ का कार्यवाहक अध्यक्ष सम्पुर्ण ताम्राकारको अध्यक्षतामा भएको थियो भने प्रेस विज्ञप्ती महेन्द्र क्याम्पसका स्ववियु सचिव दोर्ची शेर्पाले वाचन गरेका थिए ।