विराटनगर: कोभिड महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासंग ९ सुत्रीय माग अघि सारेको छ ।
युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न दश जिल्लाका अध्यक्षहरुको सहभागितामा आज भएको भर्चुअल संवादबाट साझा धारणा तय गर्दै सरकार तथा संचार सम्बद्ध व्यवसायिक संघ संगठनप्रति ती माग प्रस्तुत गरिएको हो । युनियनले जोखिम क्षेत्रमा रहेका पत्रकारहरुको कोभिड–१९ परीक्षण दर बढाउन, संक्रमणमा परेका पत्रकारहरुको उपचारमा ध्यान दिन आग्रह गरेको छ । यस्तै, प्रदेश राजधानी विराटनगर र जिल्लामा पत्रकारहरुमा संक्रमण पुष्टि हुनासाथ आईसोलेसन सेन्टर तथा अस्पतालमा भर्ना गर्ने व्यवस्था गर्न पनि माग गरेको छ ।
कोभिड–१९ का कारण आर्थिक संकटको सामाना गरिरहेका पत्रकारहरुलाई सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रबाट लेखनवृत्ति कार्यक्रम सञ्चालन तथा यसलाई पारदर्शी अनि सहभागितामुलक बनाउन, सरकारद्वारा विषम परिस्थितिमा सञ्चारकर्मी र सञ्चार गृहका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न, कोरोना भाईरस सङ्क्रमका कारण बन्द भएका र सञ्चालनमै समस्या भईरहेका अनलाईन, रेडियो र भिटी जस्ता सञ्चार गृहका निम्ति सरकारले ‘सफ्ट बैंक लोन’ तथा अन्य कल्यणकारी योजनाको व्यवस्थापन गर्नुपर्नेलगायत विभिन्न माग युनियनले अघि सारेको छ ।
युनियनले प्रदेश तथा जिल्लामा भएका समस्याबारे जिल्लास्तरबाटै समाधान गर्न दबाब दिन पनि आग्रह गरको छ । छलफलले कोरोना संक्रमण पुष्टि भएका पत्रकारहरुको स्वास्थ्य लाभको कामना गर्दै अग्रज पत्रकार बलराम बानियाँ प्रति श्रद्धाञ्जली पनि व्यक्त गरेको छ । छलफलमा युनियनका पूर्वाञ्चल संयोजक लिलावल्लव घिमिरे, सुनसरी सभापति पवन अधिकारी, मोरङ सभापति कुमार लुइँटेल, पाँचथर सभापति भीम बाँस्कोटा, इलाम सभापति विप्लव भट्टराई, खोटाङ सभापति उत्तम चम्लागाईं, उदपयुर सभापति पर्शुराम थापा, ताप्लेजुङ सभापति सन्तोष पुर्कटी, तेह्रथुम सभापति टीआर लिम्बू, धनकुटा सभापति हिमा चेम्जोङ र झापा सभापति इन्दू पूर्वेली सहभागी थिए । छलफलपछि संयुक्त हस्ताक्षर गरी विज्ञप्ति प्रकासित गर्दै सरकारको ध्यानाकर्षण गरिएको सुनसरीका सभापति पवन अधिकारीले बताए ।