विराटनगरः सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कहाँबाट कोरोना सर्यो भन्ने पत्ता लगाउनै मुस्किल भइरहेको चिकित्सकले जानकारी दिएका छन्।

गत शनिवार धनकुुटाको एक कार्यक्रममा पुुगेर फर्किएपछि उनलाई कोरोनाको लक्षण देखिएको थियो । सोमवार राती ८ः३० मा कोरोना पोजेटिभ पुष्टि भएका मन्त्री घिमिरे अहिले होम आइसोलेसनमा छन् । तर, उनको नजिकको घेरामा भएका कसैलाई कोरोना संक्रमण देखिएको छैन । चिकिसत्कले कम्तिमा ५ दिनपछि मात्र कोरोनाको लक्षण देखाउने भन्दै मन्त्री घिमिरेलाई धनकुुटाबाट सर्यो भन्न नमिल्ने बताउँछन् । कोभिड अस्पतालमा कार्यरत एक चिकित्सकले भने ‘आज सर्यो भने भाइरस सरेलगत्तै लक्षण देखाउँदैन । भाइरस विकास भएर त्यसले रोगप्रतिरोधी क्षमतालाई प्रहार गर्न समय त लाग्छ नै ।’

घिमिरेका स्वकीय सचिव तिलक बहादुर बस्नेतका अनुसार हाल मन्त्रालयमा कसैलाई कोरोना पोजेटिभ देखिएको छैन । मन्त्रालयमा नियमित काममा आइरहने र कोभिड नियन्त्रण र व्यवस्थापनका खटिइरहने मन्त्रीलाई कताबाट सर्यो भन्ने पत्तै नभएको बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार मन्त्रालयका सुरक्षाकर्मी, कर्मचारी, सचिवालयका व्यक्ति कसैलाई पनि कोरोना देखिएको छैन । ‘मन्त्री ज्यूको वरिपरिको घेरामा हिँडिरहने कसैलाई पनि कोरोना देखिएको छैन,’उनले भने,‘वहाँ बजार क्षेत्रमा अनावश्यक हिँड्नुु पनि भएको छैन ।’

बस्नेतका अनुसार मन्त्री घिमिरे पत्निलाई पनि संक्रमण देखिएको छैन भने मन्त्रीको आवासमा रहेका सम्पुुर्ण कर्मचारीको पिसिआर रिपोर्ट नेगटिभ आएको छ । धनकुुटाको औपचारिक कार्यक्रम बाहेक मन्त्री पछिल्लो दुई हप्ता सार्वजनिक कार्यक्रममा कतै नगएको बस्नेतको भनाई छ । कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासले भने स्वास्थ्य क्षेत्रको समेत जिम्मेवारी लिएका मन्त्रीले कोभिड नियन्त्रणमा अहोरात्र खटिएका बेला कहाँबाट सर्यो भन्ने पत्ता लगाउन मुस्किल हुने बताए । उनले मन्त्रीको दौडधुुप कोरोना सँक्रमित बसेको अस्पतालदेखि विभिन्न ठाउँमा भइरहने भन्दै एकै ठाउँमा बसेको मान्छेको जस्तो कोरोना सँक्रमणको स्रोत पत्ता लगाउन सहज नहुने बताए ।