विराटनगर: प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेका हुन् । प्रदेश सरकारको कामलाई पारदर्शी र नतिजामूलक बनाउन कार्य सम्पादन सम्झौताको सुरुवात भएको हो । प्रदेश सुशासन ऐन र नियमावलीको व्यवस्थालाई आत्मसाथ गर्दे सम्झौता कार्यक्रमको थालनी भएको हो । आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियेतले कार्य सम्पादन सम्झौता गरेका छन् । बाँकी मन्त्रीहरुले सोमबार मुख्यमन्त्री राईसँग सम्झौता गर्ने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढंगले काम गर्न सजिलो हुने बताए । उनले सम्झौता बमोजिम काम अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । जेठ मसान्तभित्र कार्यक्रम कार्यान्वयन एवं बजेट खर्च गरिसक्ने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन पनि दिएका छन् । कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले सम्झौता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अब मन्त्रीहरुसँग राज्यमन्त्री र सचिवले कार्य सम्पादन सम्झौता गर्नेछन् ।