धरान: नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पदबाट हटाउने निर्णय गरेको छ ।

बबरमहलस्थित कार्की ब्याङकेटमा भएको प्रचण्ड माधव समुहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट अनुशासनको कारबाही गर्दे जिम्मेवरीमुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णय सञ्चारकर्मीलाई जानकारी दिदै प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको हुनाले पार्टीको अन्तरिम विधान अनुसार कारबाही गरि पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको बताए ।

प्रवक्ता श्रेष्ठले ओलीलाई अध्यक्षबाट कारबाही गरिएपछि रिक्त अध्यक्ष पदमा माधवकुमार नेपाललाई चयन गरिएको पनि जानकारी दिए । साथै, उनले स्थायी कमिटिको रिक्त पदमा कृष्णबहादुर महरालाई मनोनित गर्ने स्थायी कमिटी बैठकको निर्णयलाई अनुमोदन गरेको पनि जानकारी दिए । साथै बैठकले संसद विघटन गर्ने घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी ठहर गर्दै भत्सर्ना गर्ने निर्णय गरेको पनि बताए । साथै, अविलम्ब संसदको अधिवेशन आह्वान गर्न र संसदको नियमित कार्य सुचारु गर्न पनि माग गरेको श्रेष्ठले जानकारी दिए । उनले यसविरुद्ध संघर्ष गर्ने पनि निर्णय गरेको बताए ।