धरान: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय समिति औपचारिकरुपमा नै विभाजन भइसकेको छ । तर, पार्टी र चुनाव चिह्नको आधिकारिता कस्ले पाउने भन्ने मात्र निर्णय हुन बाँकी छ ।
पुर्वएमाले र पुर्वमाओवादी एकता भएर दुई तिहाई हाराहारी बहुमतको कम्युनिष्ट सरकार गठन हुँदा नेता, कार्यकर्ताहरु जति उत्साहित थिए, अहिले त्यति नै निराश देखिन्छन् । केन्द्रमा भइरहेको पार्टी विभाजनको खेलले तल्लो तहसम्म असर गर्ने पक्का छ । नेकपा धरानका अध्यक्ष नारायण सुवेदीकै भनाईमा अहिले सबै कार्यकर्ताहरुको मनोवल गिरेको अवस्था छ । उनी भन्छन्,‘यत्रो बहुमत आउदा पनि केही गर्न सकिएन भन्ने निराशा छ ।’
अध्यक्ष सुवेदी माथिका नेताहरुले गल्ती गरे भन्दैमा सबै कुराको जस, अपजस कार्यकर्ताहरुले लिनुपर्छ भन्ने नहुने बताउँछन् । साथै उनले केन्द्रको विभाजनलाई चुनौती दिदै पार्टी कार्यकर्ताहरु एकढिक्का रहन पनि आग्रह गरे । पार्टी एकता प्रक्रिया नटुंगिदै विभाजन हुने अवस्थामा पुग्नुमा नेतृत्वको कमजोरी रहेको उनी बताउँछन् ।
‘हामीसँग ऐतिहासिक अवसर थियो । स्थिर सरकार चलाउन दुई तिहाई हाराहारीको बहुमत थियो । यतिखेर पार्टी नेतृत्वमा रहेकाहरुलार्य समन्वय गरेर देश र जनताको पक्षमा राम्रो कामहरु गरेर जानुपथ्र्यो । त्यसलाई सदुपयोग गर्न सकेनौं,’सुवेदी भन्छन्,‘कसैलाई दोस्न पाइदैन, जो अभिभावक हो, समन्वय गर्न सक्नुपर्छ । सकेन भने त्यो भन्दा दुर्भाग्य केही हुदैन । पार्टी एकता कस्को इन्ट्रेसमा गरिए, एकता नटुंगिदै विखण्डन हुनुपर्ने अवस्था किन सृर्जना भयो । केन्द्रीय नेतृत्वहरु जवाफदेही हुनुपर्छ ।’
अध्यक्ष सुवेदी अधिकांश साविक एमालेको कार्यकर्ताहरु पार्टी एकता नै गलत थियो भन्ने मानसिकता रहेको बताउँछन् । ‘दुइटा पार्टी एकता भएर अन्तरघुलन हुनुपर्ने समय थियो, त्यो समय नै पर्याप्त भएको थिएन । त्यसैले हाम्रो बानी व्यहवहार हरु मिलेको छैन, र समस्या देखिएको छ,’उनी भन्छन्,‘दुई खालको चरित्र मिसिएको छ । कतिपयलाई चित्त नबुझेको हुनुपर्छ, र त्यो एकताले नै विखण्डन भएको हुनपर्छ भन्ने छ ।’