धरान: साउन २२ गतेलाई लिम्बुवानको कालो दिन घोषणा गरेर राष्ट्रिय जनमुक्ति पार्टीले हरेक बर्ष एक दिन लिम्बुवान बन्द आह्वान गर्दै आएको थियो । यो बर्ष पनि आज उक्त पार्टीले लिम्बुवान बन्द घोषणा गरेको छ । त्यसैले आज बिहानैदेखि धरानको पनि विभिन्न चोकहरुमा सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ । 

लिम्बुवान बन्द घोषणा गरेपनि जनमुक्ति पार्टीले भने बिषम परिस्थिति भएको कारण बन्द हडताल गर्दै नहिड्ने प्रष्ट पारेको छ । पार्टीका नेता विष्णु थाम्देनले यो बर्ष विरोध कार्यक्रम निरन्रतता छ भन्ने राज्यलाई जानकारी गराउनको लागि लिम्बुवान घोषणा गरिएको हो । तर आफुहरु बन्द हडताल गर्दै नहिड्ने उनले बताए । 'अहिले कोरोना संक्रमणको बेला छ, त्यसैले बन्द घोषणा गरेपनि बन्द गराउदै हिड्दैनौं,'नेता थाम्देनले भने, 'हाम्रो विरोध कार्यक्रम निरन्तरता छ भन्ने राज्यलाई जानकारी गराउन दबाबमुलक कार्यक्रम मात्र गछौं ।' 

नेता थाम्देनका अनुसार लिम्बुवानका विभिन्न जिल्ला, सहरहरुमा आज सांकेतिकरुपमा कालो झण्डा प्रर्दशन र केही ठाउँमा कालो झण्डा गाड्ने कार्यक्रम मात्र हुनेछ । जनमुक्ति पार्टीले नेपालको संविधान २०७२ पुर्नलेखन गर्नुपर्ने र लिम्बुवानसहितको नयाँ राज्य संरचनालाई संबोधन गर्नुपर्ने माग प्रमुखताको साथ उठाउदै आएको छ । 'संविधान पुर्नलेखन हुनुपर्छ । लिम्बुवानसहितको नयाँ राज्य संरचनालाई सम्बोधन हुनुपर्छ भन्ने हाम्रो दबाबमुलक कार्यक्रम हो । संकेतिकरुपमा कालोझण्डा प्रर्दशनसम्म गर्ने, केही ठाउँमा झण्डा गाड्ने कार्यक्रम छ, 'थाम्देनले भने । 

वि.स.१८३१ साउन २२ गते तत्कालिन गोरखा राज्य र अरुणपुर्व लिम्बुवानबीच सन्धि भएको थियो । उक्त सन्धिलाई जनमुक्ति पार्टीले छलकपटपुर्ण सन्धि भन्दै आएको छ । उक्त सन्धिले लिम्बुवानको सर्वभौम सत्ता हरण गरेको जनमुक्तिको भनाई छ । पार्टीले नेपालको अन्तर्गत लिम्बुवान स्वयत्त राज्य स्थापनाको संवैधानिक ग्यारेण्टी गर्न हरेक बर्षको साउन २२ गतेलाई लिम्बुवानको कालोदिनको रुपमा २०६६ सालदेखि शान्तिपुर्ण लिम्बुवान बन्द गर्दै आएको छ । नेपाललाई पुर्णसंघीयतामा लैजाने र १८३१ साउन २२ गतेको सन्धिको मुल जगलाई टेकेर आन्मनिर्णयको अधिकारसहित लिम्बुवान स्वयत्त राज्य स्थापना गर्नुपर्ने जनमुक्तिको माग छ ।