धरान: नेकपा माओवादी केन्द्रमा नेताहरुबीचको गुटको विवाद चर्कदै गएपछि धरानस्थित पार्टी कार्यालयमा पनि तालाबन्दी भएको छ । 

धरान १४, पेरिस खोल्सीस्थित पार्टी कार्यालयमा आज वाइसिएल धरानका अध्यक्ष विजय लामाको अगुवाईमा तालाबन्दी भएको हो । पार्टीभित्र गुट, उपगुटको लडाईले पार्टीलाई क्षति हुने भन्दै गुटबन्दी अन्त्यको माग गर्दै वाइसिएलले ताला लगाएको माओवादी केन्द्रका युवा नेता मिङमा भोटेले जानकारी दिए । उनका अनुसार पार्टीका युवाहरुले विवाद अन्त्य गर्न नेताहरुलाई ध्यानाकर्षण गर्दा पनि नमाने पछि विवाद नमिलेसम्म पार्टी कार्यालय बन्द गर्न वाइसिएलले ताला लगाएको हो । 

माओवादी केन्द्रको धरान सचिव तथा कार्यकारी अध्यक्ष सुर्दशन श्रेष्ठले तालाबन्दीबारे आफुलाई थाह नभएको प्रतिक्रिया दिए । अराजकतरिकाले ताला लगाएको भए विधान अनुसार कारबाही प्रक्रिया अघि बढाउने उनले बताए । माओवादी केन्द्रको धरान र सुनसरी जिल्ला कमिटीमा चर्को विवाद छ । जिल्ला समन्वय समितिले धरानको अध्यक्षमा फोक्वाहाङ सुब्बा चोत्लुङलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो । जिल्लाको यो निर्णय खारेज गर्दै प्रदेश १ समितिले चोत्लुङलाई धरान उपमहागर कमिटीको सहइञ्चार्ज बनाएको छ भने कार्यकारी अध्यक्षको जिम्मेवारी सचिव सुर्दशन श्रेष्ठले पाएका छन् । धरानको इञ्चार्जमा अइन्द्रबिक्रम बेघालाई जिम्मेवारी दिइएको छ । 

यस्तै, प्रदेश कार्यालयले जिल्ला समन्वय समिति संयोजकबाट हटाएर योगेन्द्रप्रसाद मण्डल पप्पुलाई जिल्ला सहइञ्चार्ज बनाएको छ भने संयोजकको जिम्मेवारीमा केही दिनअघि एमालेको प्रदेश १ कमिटीमा मनोनित भएका सुरेन्द्र मेहतालाई दिने निर्णय गरेको छ । प्रदेशको यो निर्णयको विरोध गर्दै जिल्ला समन्वय समितिले पनि प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ ।