धरान: जनता समाजवादी पार्टी धनकुटाका नेताहरु समग्र जिल्लाको विकास निर्माणको एजेण्डा बोकेर संघीय राजधानीमा पुगेर मन्त्रालयहरुमा गएका छन् । 

जसपा नेताहरुको टोलीले विभिन्न ६ वटा मन्त्रालयमा पुगेर धनकुटा जिल्लाको विकास र पर्यटन प्रवर्द्धनको लागि लिखित माग पत्र बुझाएको जनता समाजवादी पार्टी साँगुरीगढी गाउँपालिकाका अध्यक्ष लीलाराज लावतीले जानकारी दिए । उनका अनुसार वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शहरी विकास मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरूलाई भेटेर माग पत्र बुझाइएको थियो । माग पत्रमा धनकुटा जिल्लामा भएका प्रकृतिक प्रकोप साथै दीर्घकालीन र तत्कालिनरूपमा मन्त्रालयबाट हुन सक्ने विकासका आधारभूत विषयहरुलाई समेटिएको पनि लावतीले जानकारी दिए ।

जसपा धनकुटाका अनुसार गत साता बेमौसमी झरीसँग धनकुटाको लेउती खोलाले क्षति पुगेको कोशी राजमार्ग सडकलाई तुरुन्त निर्माण गरी सवारी अवगमनलाई सहजता प्रदान गर्न माग गरिएको छ । डेलिगेशन टोलीमा धनकुटा जिल्लाका पूर्व मन्त्री तथा जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रकम चेम्जोङ्ग, केन्द्रीय सदस्य अर्जुन थापाको सहकार्य र विशेष पहलमा धनकुटा जिल्लाका जिल्ला समन्वय समितिका अध्यक्ष बल बहादुर राईको अगुवाइमा जिल्लाका सह(सचिव नारायण जुन राई, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष लीलाराज लावती, जिल्ला समन्वय समितिका सदस्यद्धय विजय राई र रवीन्द्र कुमार राईको प्रतिनिधि मण्डलको टोलीले माग पत्र प्रस्तुत गरेको हो । उक्त टोलीले बृहतरुपमा जिल्लाबासीहरुको समृद्बि तथा जिल्लाको समग्र विकासलाई प्राथमिकता राखेर लिखित रुपमा मागपत्रहरु दिइएको जसपा धनकुटाले जनाएको छ ।