धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमितिको नवौं अधिवेशन आगामी मङ्सिरमा गर्ने निर्णय भएको छ ।
शनिबार बसेको १७ औं बैठकले किरात राई यायोक्खा जिल्ला कार्यसमितिको कार्यालय धरान १० स्थित यलम्बर स्मृति संग्राहलय भवनमा मङ्सिर २४ र २५ गते नवौं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । यायोक्खाका पूर्वकेन्द्रिय अध्यक्ष एवं धरानका मेयर तिलक राईले आफ्नो मेयर कोषबाट किराया सुनसरीको कार्यालय व्यवस्थापनका लागि १ लाख ५० हजार बराबरको सामग्री प्रदान गरेको छ । मल्टिमिडिया, मिक्सर, साउण्ड सिस्टम हस्तान्तरण गरेको सचिव राजेन्द्र राईले जानकारी दिए । यायोक्खाको १७ औं पूर्ण बैठकमा उक्त मूल्य बराबरको सामग्री हस्तान्तरण गरेको पनि उनले बताए ।
यस्तै, बैठकमा १२ औं राष्ट्रिय जनगणनामा जात÷जातिको महलमा राई, पूर्खाको भाषामा आ–आफ्नो थरगत भाषा (जस्तैः दुमि, बान्तवा, चाम्लिङ वाम्बुले, तिलुङ, खालिङ, बायुङ/बाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, कोयू/कोयी, साम्पाङ, थुलुङ, पुमा, दुङमाली, आठपहरिया, छिन्ताङ, छिलिङ/छुलुङ, फाङ्दुवाली, मुगा/मुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङ्खिम/लिङ्खिम, देवास, नेवाहाङ, मध्ये कुनै एक लेख्ने, लेखाऔं), मातृभाषामा आ–आफ्नो थरगत भाषा लेख्ने, लेखाऔं, दोस्रो भाषामा नजिकको राई जातिको थरगत भाषा मध्येको कुनै एक भाषा लेख्ने र धर्मको महलमा किरात लेख्ने, लेखाउन मातहतका कार्यसमितिहरु, भाषिक, भातृ संस्थाहरुलाई परिचालन गर्ने र गराउने निर्णय गरिएको छ ।
किराया सुनसरीका अध्यक्ष बलराम राईले पूर्ण बैठकमा सम्पूर्ण किरात राईहरुलाई १२ औं राष्ट्रिय जनगणनामा आफ्नो जात÷जातिको महलमा राई, पूर्खाको भाषामा आफ्नो मातृभाषा, मातृभाषामा कुनै थरगत किरात राईहरुको एक भाषा र धर्मको महलमा किरात लेख्न आग्रह गर्दै नौं वटा प्रस्तावमाथि निर्णय गरिएको बताए ।