धरान: नेकपा एमालेको सुनसरी जिल्ला कमिटीको दुई पक्षको विवाद समाधान गर्न रमेश बस्नेतको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक कमिटी बनाउन कार्यदलले पत्रमार्फत निर्देशन दिएको खुलेको छ ।
एमालेले प्रदेश नं १ को जिल्लाहरुमा विवाद समाधान गर्न नेता सुभाष नेम्बाङ संयोजक रहेको एक कार्यदल गठन गरेको थियो। उक्त कार्यदलमा पुर्वमुख्यमन्त्री एवं १ नम्बर प्रदेश इञ्चार्ज भीम आचार्यसमेत थिए । यही कार्तिक ८ गते संयोजक नेम्बाङ र कार्यदल सदस्य आचार्यले हस्ताक्षर गरी रमेश बस्नेतलाई पठाएको निर्देशनात्मक पत्र अहिले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो । पत्रमा ६ बुँदे निर्देशन दिइएको छ ।
उक्त पत्रमा बस्नेतको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक कमिटी बनाउने र सहसंयोजकमा नन्दकुमार बस्नेत र निलम खनाल रहने उल्लेख छ । यस्तै, सचिवमा पर्शुराम यादव र उपसचिवमा लिलम बस्नेत रहने भनिएको छ । सदस्यहरुमा दुवै जिल्ला कमिटीका सदस्यहरु रहने र आगामी पुष महिना मसान्त भित्र जिल्ला अधिवेशन आयोजना गर्न पनि निर्देशन दिइएको छ ।
यसैगरि, मातहतको कमिटीहरु मिलाउदा आउने समस्या समाधान गर्न धर्मराज निरौला संयोजक रहेको ७ सदस्यीय कार्यदल बनाउने पनि पत्रमा निर्देशन रहेको छ । उक्त कार्यदलमा भगवती चौधरी, जगदीश कुसियैत, तैयब हुसेन, रेवती भण्डारी, रमेश बस्नेत र मुरारी सुवेदी रहने उल्लेख छ ।
सुनसरीमा संस्थापन पक्षको जिल्ला कमिटी र जेठ २ अघिको जिल्ला कमिटीबीच आधिकारिकता विवाद छ । संस्थापन पक्षको कमिटी अध्यक्ष रेवतीरमण भण्डारी छन् । यो कमिटीले केही दिनअघि महाधिवेशन प्रतिनिधि छनौट गर्ने कार्यतालिका तथा कार्ययोजनासमेत मातहतका कमिटीहरुलाई पठाइसकेको छ।