धरान: नेकपा एमाले सुनसरीको विवाद समाधान गर्ने सहमति भएको छ । 

महाधिवेशन नजिकिदै गएपछि दुई दिनयता एमालेका केन्द्रीय नेताहरुबीच निरन्तर छलफल भएको थियो । उक्त छलफलमभा सहमति जुटेको र भोली (बुधबार) इनरुवाको ओम साइ पार्टी प्यालेसमा दुवै कमिटीको संयुक्त बैठक बस्ने तयारी भएको संस्थापन पक्षको जिल्ला कमिटी प्रचार विभाग प्रमुख रवि खनालले जानकारी दिए । उनले भने,‘भोली ११ बजे दुवै पक्षको संयुक्त बैठक बसेर जिल्ला कमिटी एक भएर आउछ । बैठकको खबर गरिरहेका छौं ।’

पार्टी सचिव एवं १ नम्बर प्रदेश इञ्चार्ज भीम आचार्यसहित केन्द्रीय सदस्यहरुबीचको बैठकले विवाद समाधान गर्दै संयुक्त बैठक राख्ने सहमति गरेको हो । केन्द्रीय सदस्य जगदीश कुसियैतका अनुसार भोली हुने बैठकमा दुई वटा कमिटीका दुवै अध्यक्षलाई बैठकको अध्यक्षता नगराउने र विकल्पमा जाने सहमति भएको छ । पार्टी सचिव एवं प्रदेश इञ्चार्ज आचार्यको प्रमुख आतिथ्यमा हुने बैठकमा केन्द्रीय कमिटीका नेताहरुमध्ये कोही एक जनाले अध्यक्षता गर्ने उनले बताए । ‘जिल्ला अधिवेशन आयोजक कमिटी बनाएर जान्छौ, दुवै जना अध्यक्ष हुदैन, तेस्रो व्यक्तिलाई अधिवेशन आयोजक अध्यक्ष बनाउने सहमति छ,’उनले भने । 

नेता कुसियैतका अनुसार तेस्रो व्यक्तिको नाममा पनि सहमति भइसकेको तर सार्वजनिक गर्न नमिल्ने बताए । उनका अनुसार एक जना अध्यक्ष, २ जना उपाध्यक्ष, २ जना सचिव र १ जना उपसचिव रहेको आयोजक कमिटी बन्नेछ । सुनसरीमा जेठ २ अघिको कमिटी पक्षको अध्यक्षमा रमेश बस्नेत छन् भने संस्थापन पक्षले गठन गरेको जिल्ला कमिटी रेवतीरमण भण्डारीको अध्यक्षतामा रहेको छ । दुवैले आफुलाई आधिकारिक दाबी गर्दै आएका छन् । पार्टीले नेता सुवास नेम्बाङ संयोजक रहेको कार्यदललाई विवाद समाधान गर्ने जिम्मा दिए पनि सुनसरीको विवाद मिल्न सकेको थिएन ।