धरान: नेकपा एमाले सुनसरीको संस्थापन पक्षले राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि छनौट गर्ने कार्यलाई स्थगित गरेको छ । 

एमाले सुनसरीको विवाद अन्त्य गर्दै बुधबार बिहान ११ बजे दुवै कमिटीको संयुक्त बैठक बस्ने भएपछि संस्थापन पक्षले महाधिवेशन प्रतिनिधि छनौटको कार्यक्रम स्थगित गरेको हो । संस्थापन पक्षको कमिटीका अध्यक्ष रेवतीरमण भण्डारीले मंगलबार एक सुचना जारी गर्दै कार्तिक २४ गतेको प्रतिनिधि मनोनयन पत्र दाखिला कार्यक्रम स्थगित गरेको जानकारी दिएका छन् । साथै, उनले मनोनयन दाखिला गर्ने मिति पुनः प्रकाशन गर्ने पनि उल्लेख गरेका छन् ।

notice

बैठकको अध्यक्षता कस्ले गर्ने ?

बुधबार बिहान ओम साई पार्टी प्यालेसमा हुने संयुक्त बैठकको अध्यक्षता समानन्तर कमिटी संस्थापन पक्षका अध्यक्ष रेवतीरमण भण्डारी र जेठ २ अघिको कमिटीका अध्यक्ष रमेश बस्नेतले नगर्ने नेताहरुबीच सहमति भइसकेको छ । दुवै अध्यक्षको अध्यक्षतामा बैठक नबस्ने सहमति भएपनि कस्को अध्यक्षतामा बैठक हुन्छ भन्ने निश्चित भइसकेको छैन । 

एमाले केन्द्रीय सदस्य जगदीश कुसियैतका अनुसार जिल्लामा रहेका केन्द्रीय सदस्यहरु मध्येबाट एक जनाको अध्यक्षतामा बैठक हुनेछ । तर, उनले कस्को अध्यक्षतामा हुन्छ भन्ने बताएनन् । उक्त बैठकको प्रमुख अतिथि पार्टी सचिव तथा १ नम्बर प्रदेश इञ्चार्ज भीम आचार्य हुनेछन्, तर अध्यक्षता कस्ले गर्ने भन्नेमा अन्योल छ । यो बिषयमा दुवै पक्षका नेताहरु निरन्तर संवादमा छन् । 

एक नेताका अनुसार प्रदेश इञ्चार्ज आचार्यले केन्द्रीय सदस्य धर्मराज निरौलाको अध्यक्षतामा संयुक्त बैठक बसाउन चाहेका छन् । तर, संस्थापन पक्षका नेताहरुले मानेका छैनन् । कार्तिक ९ गते धरान १५ स्थित होटल इजी राइडरमा जेठ २ पक्षको नगर अधिवेशन उद्घाटन कार्यक्रममा निरौलाले उपमेयर एवं नेतृ मञ्जु भण्डारी सुवेदीको चरित्र हत्या हुने खालको विवादित अभिव्यक्ति दिएपछि संस्थापन पक्षका नेता, कार्यकर्ताहरु रुष्ट छन् । संस्थापन पक्षले निरौलालाई कारबाही गर्न पार्टी कमिटीलाई उजुरी गरेको कारण उनको अध्यक्षतामा बैठक नहुने अडान राखेका छन् । 

एक नेताका अनुसार संस्थापन पक्षले केन्द्रीय सदस्य जगदीश कुसियैतको अध्यक्षतामा बैठक गर्न प्रस्ताव गरेको छ । कुसियैत एमाले नवौ महाधिवेशनबाट निवार्चित पुर्ण केन्द्रीय सदस्य हुन् । यद्यपी, बुधबार बैठक शुरु हुनुअघि यो बिषयमा पनि सहमति हुने ती नेताको भनाई छ । उनले भने,‘मुलमुत बिषयमा सहमति भइसकेको छ, अध्यक्षता कस्ले गर्ने भन्ने पनि मिल्छ ।’

इटहरी उपमहानगरका मेयरसमेत रहेका एमाले जिल्लाका पुर्वअध्यक्ष द्धारिकलाल चौधरीले मंगलबा साँझ सामाजिक सञ्जालमार्फत पार्टी कार्यालय इनरुवामा आफ्नो अध्यक्षतामा बैठक हुने भन्दै जिल्ला कमिटी सदस्यहरुलाई उपस्थितिको लागी अनुरोध गरेका छन् । यसले पनि केही अन्योल सृर्जना गरेको छ । 

खेमराज पोख्रेलको अध्यक्षता अधिवेशन आयोजक कमिटी बन्ने

khemraj

बुधबार हुने संयुक्त बैठकको अध्यक्षता कस्ले गर्ने भन्नेमा मतभेद देखिए पनि बैठकले एमाले सुनसरीको नेतृत्व गर्न आउने व्यक्तिबारे भने नेताहरुबीच सहमति भइसकेको छ । नेताहरुबीच एमाले सुनसरीका अग्रज नेता खेमराज पोख्रेललाई जिल्ला अधिवेशन आयोजक कमिटीको अध्यक्ष बनाउने सहमति भइसकेको छ । इनरुवा निवासी पोख्रेल हाल एमालेको प्रदेश कमिटी सदस्य छन् । उनी लामो समय जिल्ला कमिटीमा रहेर काम गरेका नेता हुन् । २०५४ सालमा स्थानीय निकायको निर्वाचनमा इनरुवा नगरपालिकाको मेयरसमेत भइसकेका राजनीतिकर्मी हुन् उनी ।

एमाले सुनसरीमा संस्थापन पक्षका अध्यक्ष भण्डारी र जेठ २ अघिको कमिटीका अध्यक्ष बस्नेतले एकले अर्काको नेतृत्व स्वीकार नगर्ने भएपछि नेताहरुले विवाद मिलाउन विकल्पकोरुपमा पोख्रेललाई नेतृत्वमा ल्याउने सहमति गरेका हुन् । संस्थापन पक्षको कमिटीका अध्यक्ष भण्डारीले पोख्रेलको नेतृत्वमा जिल्ला अधिवेशन आयोजक कमिटी गठन हुने सहमति भएको स्वीकार गर्दै संयुक्त बैठकबाट निष्कर्षमा पुगिने बताए । उनले भने,‘मोटामोटी सहमति त्यही हो, भोली बैठकबाट फाइनल हुन्छ । सहमतिबाट नै अधिवेशन आयोजक कमिटी बन्छ ।’