धरान: आगामी आर्थिक बर्षको बजेटमा असन्तुष्टी जनाउदै बराहक्षेत्र नगरपालिकाको नगरसभामा अनुपस्थित भएका वडा ५ का अध्यक्ष राजु अधिकारीले पार्टीबाट पनि राजिनामा दिएका छन् ।
वडाअध्यक्ष अधिकारी नेकपाबाट निवार्चित वडाअध्यक्ष हुन् । बराहक्षेत्रमा नेकपाबाटै निवार्चित मेयर छन् । बजेटको बिषयमा असन्तुष्ट भएका उनले असार १० गतेको नगरसभा पनि बहिष्कार गरेको चर्चा थियो । उनले नगरसभा बहिष्कार गरेको स्वीकार गर्दै पार्टीमा पनि राजिनामा पत्र बुझाएको बताए । ‘मेरो कुराको कुनै सुनुवाई नभएपछि पार्टीबाट राजिनामा दिएको हो, मैले हिजो नै पत्र बुझाइसके,’उनले भने ।
अध्यक्ष अधिकारीका अनुसार पार्टीको संयन्त्रमा विधानसम्मत ज्येष्ठ निवार्चित वडाअध्यक्षले प्रतिनिधित्व गर्न पाउनुपर्ने हो । तर, पार्टीले त्यो अधिकारबाट बञ्चित गरेको र पटक पटक कुरा राखेपनि सुनुवाई नगरेको उनले बताए । ‘यो कसैको निगाहले पाउने होइन, विधानसम्मत पाउने अधिकार थियो,’उनले भने । अधिकारी हाल नेकपाको बराहक्षेत्र नगर कमिटि सचिवालय सदस्य छन् । उनी तत्कालिन एमालेको २ पटक भरौल पार्टी अध्यक्ष भएका थिए भने १ कार्यकाल वडाअध्यक्ष पनि भएका थिए ।
बराहक्षेत्रमा पार्टी र स्थानीयतहबीच समन्वय गर्न पार्टी इञ्चार्ज, अध्यक्ष, मेयर,उपयेमर, पार्टी सचिव, २ जना वरिष्ठ वडाअध्यक्ष र स्थानीय तह विभाग प्रमुख रहेको संयन्त्र गठन गरिएको छ । उक्त संयन्त्रमा अध्यक्षहरुमध्ये २ जना वरिष्ठ अध्यक्ष प्रतिनिधित्व गराउनुपर्ने भएपनि आफुलाई नगराइएको अधिकारीको भनाई छ । नेकपा अध्यक्ष कमल कटवालले राजिनामा पत्र कार्यालयमा दर्ता भएपछि छलफल हुने बताए । ‘उहाँ संयन्त्रमा नभएको बिषयमा केही मनमुटाव भएको होला । मिलाएर जाने भन्ने कुरा भएको हो । त्यो भन्दा पनि बजेटको बिषयमा उहाँको असन्तुष्टी हुनुपर्छ,’कटवालले भने,‘राजिनामा पत्रबारे छलफल हुन्छ ।’
मेयर निलम खनालले अधिकारीले पार्टीबाट राजिनामा दिएको आफुले सुनेको मात्र बताए । बजेटको बिषयमा असन्तुष्टी भए नगरसभामा कुरा राख्नुपर्ने तर उपस्थित नै नभै बहिष्कार गरेको भन्नु उचित नभएको मेयर खनालले बताए । ‘मलाई केही भन्नु भएको छैन । कुरा राख्नु भएको पनि छैन । अघिल्लो दिन उहाँसँगै बसेर कुरा गरेको थिएँ,’मेयर खनालले भने,‘बहिष्कार भनेको त्यस्तो हुदैन । जनताको प्रतिनिधिले त यो यो कुरामा चित्त बुझेन भनेर भन्ने हो । सभामा आएर कुरा राख्ने र पनि चित्त बुझेन भनेर बहिष्कार गर्ने हो । उहाँ त उपस्थित नै हुनुहुन्न । कसरी बहिष्कार भयो ?’