धरान: १९ औं अम्वर ललित डिपो कप शुरु भएको छ ।
प्रतियोगिताको शुक्रबार भएको उद्धघाटन खेलमा आयोजक डिपो स्कुल रेड टिम विजयी भएको छ । उद्धघाटन खेलमा डिपोले देउराली चिल्ड्रेन स्कुललाई ५–० फराकिलो गोल अन्तर हरायो । खेलमा डिपोका सुरज राणा मगरले ह्याट्रिक गरे । उनले पहिलो हाफको तेस्रो, दोस्रो हाफमा पनि तेस्रो र २३ औं मिनटमा गोल गर्दै ह्याट्रिक गरेका थिए ।
यसैगरि डिपोका कुशल राईले दोस्रो हाफको १२ औं मिनटमा गोल गरे भने एक गोल देउरालीकाका सक्षम राईले आफ्नै गोल पोस्टमा अत्मघाती गोल गरेका थिए। खेलको म्यान अफ द म्याच देउराली चिल्ड्रेनका उज्वल घतानी घोषित भए । उनलाई कार्यक्रमका प्रमूख अतिथि एवं सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले ट्रफि प्रदान गरेका थिए ।
पुष १२ गते देखि १९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्धघाटन प्रमूख अतिथि राई र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अमरवहादुर लिम्वुले संयुक्त रुपमा पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए । कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको छ ।
आयोजक डिपो स्कुल रेड र ब्लु, देउराली चिल्ड्रेन, धरान लिगामेन्ट, प्रभात स्कुल, समिट स्कुल, इमानुयल स्कुल, सुनाखरी स्कुल, हिविकस् स्कुल, कार्मेल हाइ स्कुल, जोलसाय स्कुल, नेपाल पुलिस स्कुल, आइडियल स्कुल, दिल्ली पव्लिक स्कुल, नेवेल एकेडेमि र माउण्ट हर्मन स्कुलले प्रतियोगितामा सहभागिता जनाएको छ ।
उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शिक्षासंगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागिता गराई उनिहरुमा भएको प्रतिभालाइ प्रोत्साहन गर्नलाई प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्राचार्य राजकुमार राईले बताए ।
अम्वर ललित डिपो कप २०६१ साल देखि सुरु भएको हो । लकडाउनको बेला दुई संस्करण हुन नसकेपनि त्यसबाहेकका बर्षहरुमा निरन्तर आयोजना भइरहेको उनले बताए । पहिलो खेल पराजित भएको टिमले दिलवहादुर प्लेट च्याम्पियन खेल्नेछ । पहिलो चरणमा पराजित ८ टिमले प्लेट च्याम्पियनका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्लेट च्याम्पियनका विजेतले नगद ३ हजार १ सय ११ रुपैया र उपविजेताले २ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । डिपो कपको पहिलो चरणका खेलहरु सकिएपछि प्लेट च्याम्पियनका खेलहरु सुरु हुनेछ । उद्धघाटन कार्यक्रममा डिपो स्कुल वोर्ड अफ ट्रस्ट्रिजका अध्यक्ष भिमराज लिम्वु, विद्यालय व्यवस्थापन समिति सदस्य एवं प्रतियोगिता संयोजक दिपवहादुर राई, सदस्य सुर्यपन्धाक लिम्वु, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, निर्वतमान अध्यक्ष जनकऋषि राई लगायतको उपस्थिति रहेको थियो ।