धरान: सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगितामा धरानका युवा व्यवसायिक गल्फर निरज तामाङ च्याम्पियन भएका छन् ।
पार ७० को धरान गल्फ कोर्षमा शुक्रबार सम्पन्न भएको मुख्य स्पर्धामा कुल १७ अण्डर १९३ स्कोरको रेकर्ड बनाउदै निरज च्याम्पियन भएका हुन् । तेस्रो तथा फाइनल खेलमा शुक्रबार निरजले ५ अण्डर ६५ स्कोर खेलेका थिए । पहिलो दिन पनि कोर्षको रेकर्ड ब्रेक गर्दै उनले ८ अण्डर ६२ स्कोर खेलेका थिए भने दोस्रो दिन ४ अण्डर ६६ स्कोर गरेका थिए ।
यसअघि यो रेकर्ड धरानकै युवा व्यवसायिक गल्फर शुक्रबहादुर राईले २०२२/२३ को सिजनमा बनाएका थिए । निरजले शुक्रसँगै यो रेकर्ड बराबरी गरेका छन् । निरले उपाधि ट्रफीसँगै नगद १ लाख ५० हजार पुरस्कार पाए । निरजसँग ७ स्ट्रोकले पछि परेका विष्णुप्रसाद शर्माले कुल ७ अण्डर २०३ स्कोर खेलेर दोस्रो भए । उनले दोस्रो पुरस्कार नगद १ लाख हात पारे ।
कुल ३ अण्डर २०७ स्कोर खेलेका धरानका व्यवसायिक गल्फर बलभद्र राई (मणि)ले तेस्रो हुदै नगद ७५ हजार जिते । नेपालका नम्बर वान गल्फर भुवन नगरकोटी र रवि खड्काले समान २ अण्डर २०८ स्कोर खेलेर संयुक्त चौथो भए । दुवैले जनही नगद ५५ हजार थापे ।
यसैगरि, धनबहादुर थापा र भुवनकुमार रोक्काले समान १ अण्डर २०९ स्कोर खेल्दै संयुक्त छैटौं भएर । दुवैले जनही नगद पुरस्कार ४४ हजार थापे । यस्तै, रामे मगरले १ ओभर २११ स्कोर खेल्दै आठौं स्थानमा रहेर नगद ३८ हजार पाए । टंकबहादुर कार्की र सञ्जय लामाले समान ४ ओभर २१४ स्कोर खेल्दै संयुक्त नवौं स्थानमा रहेर जनही नगद ३३ हजार ५ सय पुरस्कार पाए ।
एमेच्योरतर्फ सुमन परियारले कुल १ अण्डर २०९ स्कोर गर्दै च्याम्पियन बने । उनी ओभरअलमा छैटौं स्थानमा रहे । उनीभन्दा २ स्ट्रोकले पछि परेका सुमन राईले कुल १ ओभर २११ स्कोर गर्दै उपविजेता बने । विजेता खेलाडीहरुलाई सुर्य नेपालका डेपुटी जनरल मेनेजर केशव प्रधान र नेपाल गल्फ एशोसिएसनका उपाध्यक्ष तिलक राईले पुरस्कार वितरण गरेका थिए ।
कुल चार दिनको प्रतियोगितामा ५६ गल्फर सहभागी भएका छन् । ती मध्ये २९ जना व्यवसायिक खेलाडी र २७ जना एमेच्योर छन् । मुख्य स्पर्धातर्फ दुई दिनसम्म ३६ होलको खेल समाप्ती पछि २१ औं स्थानसम्मका खेलाडीहरुले कट जोगाउदै तेस्रो तथा फाइनल खेलमा भाग लिन पाएका थिए । प्रतियोगितामा शनिबार प्रो एम म्याच हुनेछ ।