काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई पदबाट हटाउन खोजीरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आफूलाई हटाउने खेल सुरु भए पनि त्यो असम्भव रहेको बताए । उनले भारतले कब्जा गरेको नेपाली भुमी समेटेको नयाँ नक्सा जारी गरेपछि नै भारतले आफुलाई हटाउने षडयन्त्र गरिरहेको पनि दाबी गरे । पदबाट आफूलाई हटाउन दुताबास सक्रिय भएको र होटलमा गतिविधिहरु भइरहेको पनि उनको भनाई थियो ।

‘अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधूप भएका छन् । भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ । नक्सा छापेकोलाई अपराध भनेका छन् । मलाई हटाउन होटलहरुमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ,’ प्रधानमन्त्री ओलीले भने,'नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने नेपालको राष्ट्रियता त्यति कमजोर छैन, तुरुन्तै मलाई हटाउन सकियोस् । कसैले नसोचे हुन्छ । कसैले हतारो नगरे पनि पनि हुन्छ ।'

प्रधानमन्त्री ओलीले आफु हटे पनि आगामी दिनमा जो प्रधानमन्त्री पदमा बसेपनि नेपालको पक्षमा बोल्दा अर्को दिन हट्नुपर्ने अवस्था आउने भएकोले आफु पदबाट नहट्ने पनि प्रष्ट पारे । 'मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन । तर अहिले हट्ने हो भने भने भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्छ । आफ्ना लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि म प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ,'उनले भने ।