विराटनगरः प्रदेश एकको पछिल्ला संसद बैठकमा सत्तापक्ष र विपक्षी सांसदबीच जुहारी नै चल्यो ।
नेपाली काँग्रेसका सचेतक सुयर्माराज राईले सरकारको रातो किताबलाइ कालो किताब भन्दै व्यँग्य कसेका थिए । उनलाई काउन्टर दिँदै नेकपाका सचेतक बुद्दिकुमार राजभण्डारीले सरकारको नीति तथा योजनाको आधिकारिक किताबलाई कालो भनिएकोप्रति आक्रोस पोख्दै मँगलवारको संसद बैठकमा आँखा कमजोर भएको हुनसक्ने कटाक्षा गरे । उनले सभामुखलाई आग्रह गर्दै संसदको एउटा कुनामा आँखा चेक गर्ने व्यवस्था गर्न पनि माग गरेका थिए । यसअघि सत्ता पक्षकै सांसद सर्वध्वज साँवाले सरकारको बजेटलाई राम्रो भन्दै फ्लाइङ किस नै दिएका थिए ।
दलीय व्यवस्थामा संसद मर्यादिन थलो हो । सांसदहरुले दिएका ती अभिव्यक्तिहरु संसदको मर्यादामा ठेस पुगेकोतर्फ मुख्यमन्त्री शेरधन राईले संकेत गरेका छन् । उनले बुधवार (आज) प्रदेश सभालाई सम्बोधन गर्दै सांसदहरूलाई मर्यादित रहन आग्रह गरे । उनले प्रदेश सभाको गरिमालाई ख्यालमा राखेर कुरा गर्न आग्रह गरेका छन् । हामीले हावादारी र उट्पट्याङ भन्दा पनि विषय केन्द्रित भएर कुरा राखौँ, मुख्यमन्त्री राईले भने ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले काम गरिरहेको बताएका छन् । भारतबाट नेपाली स्वदेश फर्कने क्रमसँग होल्डिङ एरिया निर्माण अवधारणा ल्याइएको उनको भनाई छ। प्रदेश १ मा भारतबाट १५ हजार र तेस्रो मुलुकबाट २ हजार ९४ जना फर्किएको जानकारी उनले संसदलाई गराएका छन् ।