विराटनगर: स्वतन्त्रको नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गर्नेलाई कारबाहीको माग गर्दै नेकपाका कार्यकर्ताहरुले शनिबार विराटनगरमा प्रर्दशन गरेका छन् ।

पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग भएपछि ओलीपक्षका कार्यकर्ताहरुले विभिन्न स्थानमा प्रर्दशन गरेका थिए । त्यसक्रममा अन्य शीर्ष नेताहरु भारतीय दलाल भएको भन्दै विराटनगरमा पनि प्रदर्शन भएको थियो । उक्त प्रर्दशनमा पार्टीकै जिम्मेवार सदस्यहरु सहभागी रहेको भन्दै उनीहरुलाई कारबाहीको माग गर्दै अर्को पक्षले मोरङको नेकपा पार्टी कार्यालय पाञ्चालिमा धर्ना समेत दिएको छ ।

हिजो शुक्रबारको प्रदर्शनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायतका नेतालाई गाली गलौज गरिएको थियो । त्यसपछि प्रचण्ड र माधव नेपाल पक्षीय युवा संघका नेता तथा विद्यार्थी नेतासहितको टोलीले शनिबार मोरङका पार्टी अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, विराटनगर नगरसमितिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलीलाई त्यस्ता प्रदर्शन रोक्न दबाबसमेत दिएका छन् ।

पार्टी नेताहरुलाई दबाब दिँदै अनेरास्ववियूका नेता ओसिम आलम, युवा संघका नेता इश्वरी आचार्य, विद्यार्थी नेता ताजिम अन्सारीलगायतको नेतृत्वमा ५० भन्दा बढी युवाहरु पार्टी कार्यालयमा भेला भएका थिए । विद्यार्थी नेता ओसिम आलमले पार्टीका शीर्ष नेताहरुविरुद्ध गाली गलौज गर्ने र भारतीय दलालको रुपमा चित्रित गर्दै सडकमा आउन थालेको भन्दै आफुहरु पनि सडकमा आउन बाध्य हुने बताए । ‘शीर्ष नेताहरुको बद्नाम गर्नेगरी नाराबाजी, जुलुस गर्नेलाई कारबाही हुनुपर्छ,’उनले भने ।

मोरङका नेकपा अध्यक्ष ऋषिकेश पोखरेलले स्वतन्त्रको नाममा सडकमा आएर नेताका विरुद्धमा गाली गलौज गर्नेहरु पार्टी सदस्य हुन नसक्ने बताए । अहिले युवाहरुले पार्टी एकताको पक्षमा र नेताहरुलाई मिल्न दबाब दिनुपर्ने पनि उनले बताए । नेकपा मोरङका सचिव गणेश उप्रेतीले स्वतन्त्रको नाममा आन्दोलन गर्नेहरुको नाम लिष्ट लिएर आए कारबाही गरिने बताए । नेताहरुको प्रतिबद्धता पछि युवा तथा विद्यार्थीहरुले पार्टी कार्यालयमै केहीबेर धर्ना दिएका थिए ।