धरान: नेकपा एमाले सुनसरीको दुई कमिटीको संयुक्त बैठक गर्ने र तेस्रो व्यक्तिलाई जिल्ला अधिवेशन आयोजक अध्यक्ष बनाउने नेताहरुको सहमतिप्रति रमेश बस्नेत र उनीपक्षीय धरानका नेताहरु असन्तुष्ट भएका छन् ।
१० बुँदे सहमति, पार्टीको निर्देशन विपरीत सुनसरी जिल्लाको संयुक्त बैठक र अधिवेशन आयोजक कमिटी गठनको सहमति गरेको भन्दै आजको बैठकमा बस्नेतसहित धरानका नेताहरु सहभागी नहुने भएका छन् । यद्यपी, जेठ २ अघिको कमिटीका अध्यक्ष बस्नेतसहित धरानका नेता, कार्यकर्ताहरु आजको संयुक्त बैठकमा सहभागी हुने कि नहुने भन्नेबारे अहिले छुट्टै बैठक बसिरहेका छन् । यो बैठक धरानको होटल ड्रिमल्याण्डमा जारी छ ।
नेता बस्नेतले आजको संयुक्त बैठकबारे आफुलाई जानकारी नभएको र बैठकमा सहभागी पनि नहुने बताए । उनले संयुक्त बैठकबारे आफ्नो सहमति नभएको र विधि, विधान, पार्टीको निर्देशन विपरीत हुने बैठक वैधता पनि नहुने बताए । उनले भने,‘त्यो बैठकमा म जान्न । साथीहरु पनि जानुहुन्न होला । विधि, विधान, पार्टीको निर्देशन र १० बुँदे मानेर जाने हो । विधि विपरीत हुने बैठकको वैधता हुदैन ।’
बस्नेतले आफु नै एमाले सुनसरीको अध्यक्ष भएको दाबी गर्दै जो कोहीले बोलाएको बैठकमा सहभागी नहुने बतए । नेताहरुले गरेको सहमति र संयुक्त बैठकबारे केन्द्रीय कार्यदल, प्रदेशको कार्यदलसँग कुरा गर्ने उनले बताए । एमाले जिल्ला सदस्य पदम इस्पोले पनि संयुक्त बैठकबारे आधिकारिकरुपमा जानकारी नआएको बताए । समाजिक सञ्जालबाट सहमति र बैठकबारे जानकारी पाएको भन्दै उनले त्यसबारेमा निर्णय गर्न बैठक भइरहेको बताए । उनले भने, 'खबर सामाजिक सञ्जालमा सुनिएको छ, आधिकारिक आएको छैन । हामी बैठकमा छौ । '