विराटनगर: प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले गर्न नसक्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुसँग आयोजित अन्तरक्रियामा मन्त्री कार्कीले विपदको रोकथामदेखि उद्दार तथा राहतमा सर्वपक्षीय समन्वय हुनुपर्नेमा जोडदिएका छन् । उनले संघीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् न्यूनीकरण र राहत तथा उद्धारमा प्रभावकारी काम गर्न सकिने बताए ।
कार्कीले सुरक्षाकर्मी, स्थानीय र सरकारी प्रतिनिधिको साझा प्रयासमा जोड दिंदै स्थानीयरुपमा नगरपालिकाका नगर प्रहरीहरु पनि उद्दारमा परिचालन गर्न सकिने बताए । उनले भने, स्थानीयरुपमा हामीले नगरपालिकाका नगर प्रहरीहरूलाई समेत तालिम दिएर उद्दारमा परिचालन गर्न सकिन्छ ।ू मन्त्री कार्कीले आन्तरिक मामिला मन्त्रालयले विपदमा पर्ने सम्भावित क्षेत्रको म्यापिङ गराएर उपलब्ध साधनस्रोतको परिचालन र वितरणका निम्ति अन्य मन्त्रालयहरूसँग समन्वय गर्ने बताए । मन्त्री कार्कीले विपद्का लागि अति आवश्यक वस्तुको व्यवस्थापनमा कमजोरी नगर्ने बताए ।
जनप्रतिनिधि र दलका नेतृत्व पनि समाजको सदस्य नै भएकोले उनीहरूको आचरण तथा व्यवहार सोहीअनुरूप हुने भन्दै गलत काम गर्न नदिन जनताले झक्झक्याउनु पर्ने उनले बताए । त्यसअवसरमा ओखलढुङ्गाका सहायक प्रजिअ अर्जुन कुमार मण्डलले जिल्लामा विपदबाट हुने गरेको क्षति र बचाव सम्बन्धी भए गरेका कामबारे जानकारी गराए । कार्यक्रममा ओखलढुङ्गाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, रेडक्रस, विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी रहेका थिए ।