धरान: धरान उपमहानगरपालिका वडा नं ४ को वडा कार्यालयले किसानहरुलाई बाँदर धपाउने यन्त्र विरतण गरेको छ ।
वडा कार्यालयले शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रबाट ल्याएर वडाका किसानहरुलाई लक्षित गर्दै बाँदर धपाउने यन्त्र विरतण गरेको हो । अधिकांश पहाडी क्षेत्र भएको वडा ४ का बासिन्दाहरु खेती गर्छन् । अन्नबाली तथा तरकारी पाकेर घर भित्र्याउने बेला भने बाँदरले खाइदिने तथा नष्ट गरिदिने किसानहरुको गुनासो छ । वडाका किसानहरु ज्यादै पीडित भएकोले बाँदर धपाउने यन्त्र मगाएर वितरण गरिएको वडाअध्यक्ष धनबहादुर राईले बताए ।
वडाअध्यक्ष राईका अनुसार वडाका १७ वटा टोल विकास संस्था छन् । ती मध्ये १५ वटालाई लक्षित वर्गबाट यन्त्र वितरण गरिएको हो । आवश्यक परेको बेला टिएलओमार्फत बाँदर धपाउन यन्त्र प्रयोग गर्ने गरि वितरण गरिएको पनि वडाअध्यक्ष राईले बताए । अहिले परीक्षणकोरुपमा पनि रहेको भन्दै उनले उपयोगी भयो भने धरानको धेरै बाँदर समस्या भएको बजार क्षेत्र वडा १, २, ३ मा पनि राहत पुग्ने अध्यक्ष राईले बताए । ‘किसानहरुलाई धेरै पीडा छ, तरकारी बाली खाइदिन्छ । बाँदर मार्न पनि पाइदैन, स्नान्तरण पनि सम्भव छैन । त्यसैले यो यन्त्र ल्याएका हौं,’उनले भने ।
वडा सचिव शिव चाम्लिङले प्रत्येक परिवारलाई दिन सम्भव नभएकोले टोल विकास संस्थालाई जिम्मेवार बनाएर यन्त्र वितरण गरिएको बताए । बाँदर धपाउन आवश्यक भएको बेला सुरक्षा निकायलाई अग्रिम जानकारी दिएर मात्र यन्त्र प्रयोग गर्नुपर्ने पनि उनले बताए । ‘बाँदरको समुह धपाउन मात्र प्रयोग गर्नुपर्नेछ । त्यसबाहेक कसैलाई तर्साउन, घरपालुवा वा अन्य वन्यजन्तुलाई तर्साउन प्रयोग गर्न पाइदैन,’ यन्त्र प्रयोगको सर्तबारे उनले भने ।
वडा सदस्य गोरसमान गुरुङका अनुसार तेलनपुर, ढाडे, सेर्गे, भर्लेनीतिर बाँदरको धेरै आतंक छ । त्यसैले त्यसक्षेत्रका बासिन्दाहरुले बाँदर धपाउने उपायको खोजी गरिरहेको बेला यो यन्त्रले राहत मिल्ने आशा गरेको पनि उनले बताए । पत्रांगबारी टोल विकास संस्थाका अध्यक्ष पुष्प मगरले बाँदरले गाउँमा धेरै नै दुःख दिएको कारण जनप्रतिनिधिलाई गुहारेको बताए । उनले भने,‘बाँदरबाट बालीनाली कसरी जोगाउने भनेर चिन्तित थियौं । यो यन्त्र पायौं, समस्या समाधान हुन्छ भनेर आशावादी छौं ।’
भिडियो: