इटहरीः खोला छेउ दुुइ नगरबीचको सीमामा स्थाई सँरचनासहित घाट निर्माण थालेको भन्दै इटहरी  र सुन्दरहरैँचा नगरमा बिवाद देखिएको छ । हाल इटहरी क्षेत्रमा निर्माण सम्पन्न भइ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा समेत विकास भएको बुढिगंगा मुक्ति घाट निर्माण समितिकै अगुवाईमा उस्तै घाट पूर्वपट्टि सुन्दरहरैँचा नगरपालिकामा दुइ वर्ष अघि देखि निर्माण शुरु छ ।

उपभोक्ता समितिमार्फत सुन्दरहरैँचा नगरपालिकाले निर्माण थालेको सो संचरना माथिको विवाद आजको भने होइन । दुुइ वर्ष अघि देखि घाट निर्माणको तयारी थालेको उपभोक्ता समितिले अघिल्लो अार्थिक वर्षमा सुन्दरहरैँचाबाट छुट्टिएको ३० लाख बजेटमध्ये २५ लाखको काम सम्पन्न गरिसकेकाे छ ।

एक वर्ष अघि पहिलाे चरणकाे काम सकिएपनि त्यस बेला भने विवादको बीउ रोपिएको थियो । इटहरी उपमहानगरपालिकाबाट सीमा क्षेत्र त्यसमाथि खोला किनारामा सँरचना बनाउँदा दुइ नगरको आपसी समझदारी कायम हुनुपने भन्दै सुन्दरहरैँचालाई इटहरीले लेखेको पत्रको कुनै सुन्वाई नभएको इटहरीका जनप्रतिनिधिको गुनासो रहेको छ । सोहि इगो कायम रहिरहेको अवस्थामा यो केहि दिन अघि मात्र पुनः ३५ लाखको कामको सम्झौता भइ घाट निर्माणको काम अघि बढाउने सुन्दरहरैँचासँग सम्झौता भए अनुसार निर्माण उपभोक्ता समितिले काम गरिरहेको छ ।

अघिल्लो विवाद सुल्झिनसक्दै पुनः खोलामा काम भएको सुचना पाएपछि इटहरीतर्फबाट उपमेयर लक्ष्मि गौतमसहित नगरप्रहरी पुुगेर काम रोक्न निर्देशन दिएपछि हाल दुुइ नगरबीच कित्ताकाटको अवस्था रहेको र स्थिति झडपमा समेत पुुग्न आँटेको देखिन्छ ।

सबैपक्ष बसेर विवादको समाधान खोजिन्छः द्धारिकलाल चौधरी, मेयर इटहरी उपमहानगरपालिका

Dwarika-Lal-Chaudhari इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले खोला छेउमा निर्माण हुँदै गरेको घाटले खोलाको प्राकृतिक बहाव रोक्नसक्ने हुँदा यस्तो जटिल विषयमा सबै पक्षको राय आवश्यक रहेको बताए । उनले बुढी खोलाको पूर्वतर्फको भागमा घाट बनाउने भन्ने कुरा थाहा पाएर आफुसहित जनप्रतिनिधिको टोली पुुग्दा त्यहाँका स्थानीयको उपस्थितिले झडपको अवस्था सृजना हुने बुुझेपछि आफु सम्बन्धित पक्षको उपस्थितिमा वार्ता गर्ने तयारीमा रहेको जानकारी दिए ।
मेयर चौधरीका अनुसार वारीपारीको विवाद पंचायत कालदेखिको हो । पहिले अरु विषयमा झडपा हुँदा गोलीसमेत चलेको हुँदा आफुुले सो अवस्थासम्म पुुग्न नहुने भन्दै प्रदेश सरकारका प्रवक्ता हिक्मत कुमार कार्की, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरु, जलउत्पन्न प्रकोपका इन्जिनियर, सडक डिभिजन कार्यालयका इन्जिनियरहरुलाई जानकारी गराइसकेको बताए ।

‘मुलुकको प्रचलित कानुनले राजमार्गको पुलको उत्तर–दक्षिण ५–५ सय मिटरको क्षेत्रभित्र कुनै पनि संचरना बनाउन नपाइने व्यवस्था हुँदाहुँदै घाट बनाउन स्काभेटर लगाएर खोलाको बीचभागबाट खन्ने काम भएको छ ।’ चौधरीले भने ‘यसरी पक्की संरचना बनाउँदा खोला साँघुरिन्छ, पुलमा क्षती पुुग्छ ।’

मेयर चौधरीका अनुसार २ दिनपछि सुन्दर हरैँचा नगरपालिकामा सडक, जलउत्पन्न प्रकोप र दुुइ नगरका जनप्रतिनिधिबीच मेयर स्तरको वार्ता हुुँदैछ । सो वार्ताबाट उचित निकास निस्किने छ । ‘म कसैसँग भिडन्त गरौँ भन्ने पक्षमा छैन, घाट निर्माण दुुइ नगरबीच देखिएको विवाद वार्ताकै माध्यमबाट समाधान हुन्छ ।’ चौधरीले भने ।

इटहरीको अनावश्यक लफडा होः शिवप्रसाद ढकाल, मेयर सुन्दरहरैँचा नगरपालिका


shiba dhakal सुन्दर हरैँचाका मेयर शिवप्रसाद ढकालले इटहरीले अनावश्यक लफडा गरेको आरोप लगाएका छन् । नक्सामा आजसम्म एक सय मिटर खोला पश्चिमसम्म सुन्दरहरौचाकै क्षेत्र भएको र आफुुले बनाउन लागेको संरचना साजिलाल माविको जग्गा भएको हुँदा इटहरीले हस्तक्षेप गर्नुुपर्ने कुुनै कारण नरहेको उनको भनाई छ ।
‘हाम्रो ठाउँको विकास गर्न र यहाँका जनताको सुरक्षाका सरंरचना बनाउन इटहरीलाई सोधिराख्नुपर्ने हो र ?’ उनले प्रतिप्रश्न गरे ‘यो त लिम्पियाधुरामा भारतले नेपाललाई मिचेजस्तो भएन ?’
आफुुले चालुु गरेको योजनामा इटहरीका जनप्रतिनिधिले गुुण्डागर्दी शैलीमा काम रोकाएको र आफ्ना कर्मचारीलाई हप्किदप्कि गरेकोप्रति आफ्नो गम्भिर आपत्ति रहेको ढकालको भनाई छ । आफुले विद्युतीय शवदाह गृह बनाउन लागेको भन्दै यसमा अवरोध पुुर्याउने जो कोहिसँग डटेर मुकाविलाव गर्ने  चेतावनी दिए ।

ढकालले इटहरी क्षेत्रबाट हरेक वर्ष खोला चेप्दै ल्याउने काम गरेको भन्दै आफ्ना नागरिकको सुरक्षाका लागि पुलको दक्षिण भागमा प्रदेश सरकारको सहयोगमा जलउत्पन्न प्रकोपले बाँध बाँध्ने काम भएको र उत्तरतर्फको भागमा शवदाहगृह बनाउन काम जारी भएको जानकारी दिए ।  

इटहरीले पठाएको चिठिको प्रसङ्गमा आफुुले कुुनै पत्र प्राप्त नगरेको र सो बारे एक कल फोन समेत नआएको हुँदा कुुनै जानकारी नपाएको प्रतिक्रिया दिए ।  आफ्नो निजि स्वार्थमा कुुनै काम नभएको जनता बचाउने र योजना निर्माण गर्न नगर स्वतन्त्र रहेको हुँदा यसमा कसैको हस्तक्षेप स्वीकार्य नहुने ढकालले जानकारी दिए ।

उनका अनुसार मोरङ्गका प्रमुख जिल्ला मदन भुजेलले यो योजना विवादको बारे बुुझेका थिए भने विवाद समाधानका लागि बुुधवार छलफल गर्न आग्रह गरेका थिए । वार्ताको विषयमा मितिको टुुँगो लागिनसकेको भन्दै ढकालले भने ‘मलाइ नसोधि मेरो नगरक्षेत्रभित्र हस्तक्षेप गर्ने काम भयो, यदि यो बारे वार्ता हुन्छ भने सुन्दरहरैँचाको टेवलमा हुन्छ । अन्त वार्ता हुँदैन ।’

याे इटहरी उपमहानगरको सरासर दादागिरी हो ः हेम घिमिरे

hem-ghimire बुढिगंगा मुक्तिघाट पुर्वी खण्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष हेम घिमिरेले भने इटहरी उपमहानगरपालिकाले दादागिरीशैलीमा विकासमा अवरोध पुुर्याएको आरोप लगाएका छन् । आफुले निर्माण गर्दै गरेको संरचनाका कामदारलाई क्षेत्राधिकार बाहिर पुुगेर उपमेयर लक्ष्मि गौतमले अनावश्यक बल प्रयोग गर्न खोजेको र आतंकित पारेको उनको उनको भनाई छ ।
१५ दिन अघि मात्र निर्माण सम्झौता गरेको उपभोक्ता समितिले काम थालेको थियो । अघिल्लो साल खोलाबाट ग्याविङ वाल उठाइएको थियो भने यो पटक नगरपालिकाले छुुट्याएको ३५  लाखमा थप संरचना निर्माण भइरहेका थिए ।
निर्माण समितिका अनुसार इटहरीले लगाएको आरोप निराधार छ । यसरी संरचना बनाउँदा खोलाको मुल धारमा कुुनै असर पुुग्नेछैन भने राजमार्गको पुलमा समेत जोखिम हुनेछैन । सडक र जल उत्पन्न प्रकोपका इन्जिनियरसँगको सल्लाहबमोजिम नै पुल र खोलाको प्राकृतिक बहाबलाई कुुनै असर नपुग्नेगरि निर्माण समितिले काम गरिरहेको छ ।

इन्जिनियरले खोलाको भाग कम्तिमा ५० मिटर हुनुुपर्ने भनेता पनि हाल खोलाको भाग ६० मिटर हुने गरि काम अघि बढेको समितिका अध्यक्ष घिमिरेले जानकारी दिए । ‘पुल र खोलामा असर नपुुग्ने विषयमा हामी पनि गम्भिर छौँ ।’ इटहरी निवासीसमेत रहेका घिमिरेले भने ‘खोलापारी इटहरी क्षेत्रमा बनेजस्तै घाट बन्दा यसको मुुख्य फाइदा इटहरीलाई नै छ ।’

घिमिरेले इटहरी क्षेत्रमा घाट बनाएपछि पुलको दक्षिणतर्फको भागमा निर्माण भएको ड्याम खिलाराज रेग्मी सरकार भएको बेला आफ्नो पहलमा निर्माण भएको स्मरण गरे । ‘यदि त्यो ड्याम नबनेको भए राजमार्गको पुल  र घाट यति बेला सम्म रहने थिएन । अनि हामी पुल संरक्षणकाे बारे गम्भिर नहुने भन्ने त कुरै छैन ।’

budhi ghat bibad

बुढी खाेलाकाे पूर्वतर्फ सुन्दरहरैँचाले बनाउँदै गरेकाे विद्युतीय शवदाहसहितकाे घाट ।

दुबैतर्फ खोलाको सौन्दर्यकरण गरेर बनाइने घाटले आकर्षक धार्मिक पर्यटकीय स्थलको निर्माण हुने र हिउँदको समयमा दुबैतर्फ सानो ड्याम बनाएर बोट चलाइ दीगो आम्दानीको स्रोत दुबै नगरलाई हुने बाटाे खाेजिने उनको भनाई छ । तर, यस बारे भने पछि नै थप निस्कर्षमा पुगिने छ । हाल इटहरीतर्फको भागमा बनेको घाटको चापलाई थेग्न पूर्वीभागमा बन्ने घाटले ठुलो मदत पुग्ने घिमिरे बताउँछन् । नाम इटहरीकै जोडिने र पुल र खोलालाई असर नगर्ने बुझ्दाबुझ्दै पनि इटहरीका जनप्रतिनिधिले बाधा पुर्याउनुमा एक वर्ष अघि इटहरीले लेखेको चिठिको जवाफ सून्दरहरैँचाले नदिएको कारण रहेको  उनको बुझाइ छ ।

यो वर्ष छुट्टिएको बजेट अनुसारको काम लगभग सकिएको छ । केहि फाट्टफुट्ट काम बाँकि रहेपनि दुइ नगरबीच देखिएको असमझदारीले आगामी प्रोजेक्ट के हुने र बनिसकेको सँरचनामा लागेको खर्चको नोक्सानी पो हुने हो कि भन्ने चिन्ता भएको अध्यक्ष घिमिरेले बताए ।

‘हामी त नगरले काम जिम्मा दिएर सँरचना निर्माणमा लागिरहेका छौँ ।’ उनले भने ‘दुइ नगरका शीर्ष तहका जनप्रतिनिधि बसेर समाधान गर्न सकिने कुरामा बेकारमा लफडा लगाउनु ठिक होइन ।’ घिमिरेले इटहरी र सुन्दरहरैँचाका मेयर बसेर भएको निस्कर्ष अनुसार आफु अघि बढ्न तयार रहेको बताए । भने ‘हामीलाई त सुदरहरैँचाले काम बन्द गर भनोस् न, आजै काम बन्द छाडिदिन्छौँ ।’