विराटनगर: भोलीदेखि शुरु हुने बजेट अधिवेशनको लागि पहिलो चरणमा लिइएको सांसदहरुको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश सभाका सचिव गोपाल पराजुलीका अनुसार पहिलो चरणमा संकलन गरिएको सबै स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ‘पहिलो चरणमा १९४ जनाको स्वाब संकलन गरिएको थियो, सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी पाएका छौं,’पराजुलीले भने । उनका अनुसार दोस्रो चरणमा पनि केही स्वाबको नमुना संकलन गरिएको थियो । उक्त स्वाबको भने रिपोर्ट आउन बाँकी छ ।

केही सांसदहरु काठमाण्डौं भएकोले उनीहरुको स्वाब परीक्षण हुन बाँकी छ । ती सांसदहरुको पनि स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्र बजेट अधिवेशनको लागि प्रदेशसभामा प्रवेश पाउनेछन् । बजेट अधिवेशनको लागि मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, सांसदहरु, प्रदेशसभाका कर्मचारी, चालक, सुरक्षाकर्मी, संसदीय मामिलामा कलम चलाउने पत्रकारहरुको पनि स्वाब संकलन गरिएको थियो ।