धरान: रुकुममा भएको अमानवीय घटना एवं हत्याको छानबिन गर्न सरकारले ५ सदस्यीय उच्चस्तनरीय छानबिन समिति गठन गरेको छ ।

आज राष्ट्रियसभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका हुन् । मन्त्री थापाका अनुसार समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयका उपसचिव सदस्य छन् । यो समितिले यथासीघ्र सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनको काठघरामा उभ्याउने पनि गृहमन्त्री थापाले बताए । घटना ज्यादै दुःखद छ, राष्ट्रि सिंगो स्तब्ध छ । घटनाका दोषीहरुलाई कडा भन्दा कडा सजाय दिलाउन सरकार प्रतिवद्ध छ, गृहमन्त्री थापाले भने ।

गृमहन्त्री थापाले उक्त घटनामा ३ जनाको ज्यान गएको र ३ जना बेपत्ता रहेको जानकारी पनि दिए । जेठ १० गते रुकुम पश्चिम चौरजाहारी ८ का एक मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोटको भेरी नगरपालिका ४ का २१ का नवराज विक साथीभाईको समुह लिएर गएका थिए । करिब १९ जनाको समुह चौजहारी पुगेलगत्तै उनीहरुमाथि आक्रमण भएको थियो । गाउँलेहरुले खेदाउने क्रममा कोही भेरी नदीमा हाम्फालेका थिए भने कोही लुकेर ज्यान जोगाएका थिए । नवराज विकको शव भेरी नदीमा फेला परेको थियो भने टीकाराम सुनार र गणेश बुढाको पनि शव फेला परेको छ । जजरकोटका १८ बर्षीय लोकेन्द्र सुनार, १७ बर्षीय गोविन्द शाही र १७ बर्षीय सञ्जु विक वेपत्ता छन् । उनीहरुको खोजी तीब्र भइरहेको गृहमन्त्री थापाले संसदमा बताएका थिए ।