धरान: एमाले सुनसरीको आज बोलाइएको दुई कमिटीको संयुक्त बैठकमा धरानबाट जेठ २ अघिको कमिटीका जिल्ला सदस्यहरु सहभागी नहुने भएका छन् ।
आज बिहान होटल ड्रिमल्याण्डमा आयोजना भएको छुट्टै भेलाले उक्त संयुक्त बैठक आधिकारिक नभएकोले धरानबाट सहभागी नहुने निर्णय गरेको हो । बैठक पछि जारी प्रेश विज्ञप्तीमा प्रदेशको कार्यदलले रमेश बस्नेत अध्यक्ष भएको नयाँ कमिटीलाई आधिकारिकता दिएकोले सोही कमिटीले बोलाएको बैठकमा मात्र सहभागी हुने पनि निर्णय भएको उल्लेख छ । विज्ञप्तीमा पार्टीलाई विधि र निती विपरीत एउटा अराजक झुण्डले अन्तरपार्टी निर्देशन १२ लाई धज्जी उडाउने काम गरेको पनि आरोप लगाइएको छ । उक्त बैठकमा सहभागी २ दर्जन बढी जिल्ला कमिटी सदस्यसहित ३२ जनाको हस्तक्षरसहित विज्ञप्ती जारी गरिएको छ ।
बैठकमा सहभागी जेठ २ कमिटीका धरान उपमहानगर अध्यक्ष नारायण सुवेदीले यो बैठक र जारी विज्ञप्ती बिद्रोहको रुप भएको प्रतिक्रिया दिए । उनले पार्टीलाई विधि, विधान र निती अनुसार चल्न नदिएकोले सही ट्रयाकमा ल्याउन विद्रोह गर्नुपरेको बताए । उनले भने,‘पार्टी विधि र विधाननबाट चल्दैन भने ट्रयाकमा ल्याउन केही त गर्नुपर्यो । पार्टीलाई आन्तरिक सुद्धिकरणको लागि यो संघर्ष हो ।’
यद्यपी, सुवेदीले पार्टी भने नछोड्ने र सुद्धिकरणको लागी अन्तरसंघर्ष गर्ने दाबी गरे । उनले भने,‘पार्टी छोड्ने भए अस्ति नै छोडिन्थ्यो ।’ उनले सहमतिको नाममा आज बोलाइएको बैठक आधिकारिक नभएको भन्दै भने,‘भीम आचार्य र सुवास नेम्बाङले अस्ति रमेश बस्नेत अध्यक्ष भएको अधिवेशन आयोजक कमिटी बन्यो भनेर किन पत्र दिएको हो त ?’
आफ्नै क्षेत्रमा अफ्ठ्यारोमा भीम आचार्य
सुनसरी क्षेत्र नं १ प्रदेशसभा ख एमाले नेता भीम आचार्यको निर्वाचन क्षेत्र हो । यो क्षेत्रमा बराहक्षेत्र नगरको वडा १ देखि ५ र रामधुनीको वडा ५ र ७ वडा पर्छ भने धरान उपमहानगरपालिकाको १६, ११, १७ र १८ नम्बर वडा पनि पर्छ । एमाले धरान विगतदेखि नै माधव नेपाल समुहको एकलौटी थियो भने सोही समुहका नेता भीम आचार्यको प्रभाव थियो । यद्यपी पार्टी विभाजन गरेर माधव नेपाल एमालेबाट बाहिरिदा पनि आचार्य १० बुँदे सहमति गर्दै एमालेमै बसे । धरानका उनी पक्षीय नेता, कार्यकर्ताहरुले पनि एमाले त्यागेनन् ।
अहिले भने एमाले सचिव तथा १ नम्बर प्रदेश इञ्चार्ज आचार्य आफ्नै निर्वाचन क्षेत्रमा अफ्ठेरोमा परेका छन् । उनलाई आफ्नै पक्षका नेता, कार्यकर्ताहरुले निर्देशन नमान्ने स्थितिमा पुगेका छन् । यसको असर आगामी स्थानीय तह निर्वाचन, प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्मै पर्ने एमाले नेता, कार्यकर्ताहरु बताउँछन् । आफ्नो स्वार्थको लागी आचार्यले जस्तो सुकै सहमति गरेको भन्दै उनी पक्षीय नेता, कार्यकर्ताहरु असन्तुष्ट छन् । माधव नेपाल बाहिरिए पछि एमालेमा कमजोर बनेका आचार्य पार्टीमा आफ्नो पकड बनाइराख्न पछिल्लो समय केपी ओली पक्षीय नेता, कार्यकर्ताहरुलाई खुशी बनाउन लागेको भन्दै उनी पक्षीय नेता, कार्यकर्ताहरुको आरोप छ ।