धरान: नेकपा माओवादी केन्द्र धरानको दोस्रो नगर सम्मेलन हिजो राती अचानक अर्को सुचना जारी नभएसम्मको लागि स्थगित भयो ।
धरान १५ स्थित होटल इजी राइडरमा दिउँसो उद्घाटन भएको सम्मेलनको राती बन्दसत्रको क्रममा उम्मेदवारी मनोनयन भइसकेको थियो । नेताहरुले राती अबेर भएकोले बन्द सत्र स्थगित गर्नुपरेको बताउदै आएका छन् । तर, सहभागी प्रतिनिधिहरुले भने विवाद उत्पन्न भएको र झडपको स्थिति भएपछि बन्दसत्र स्थगित गर्नुपरेको बताएका छन् । विवाद चर्किदै गएर हलमा साउण्ड सिस्टममा तोडफोडसमेत भएको बताइएको छ । केही युवाहरु मदिरा पिएर आएकोले स्थिति तनावपुर्ण बनेको थियो । प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिनुपरेको एक प्रतिनिधिले बताए ।
मनोनयन दर्ता भइसकेको अवस्थामा तत्काल निर्वाचन गर्ने कि सहमतिको प्रयास गर्ने भन्ने बिषयले विवाद शुरु भएको थियो । सबै प्रतिनिधिहरुबाट पहिलो चरणमा ८१ जना कार्यसमिति सदस्यहरु चुन्नुपर्ने थियो । सोही ८१ जना सदस्य छान्न मनोनयन दर्ता भएको थियो । एक पक्षले ८१ जनाको लागी तत्काल निर्वाचन गरेर त्यसपछि बन्दसत्र रोक्नुपर्ने माग गरेको थियो । यही बिषयमा पक्ष र विपक्षमा प्रतिनिधिहरु बाँडिदा विवाद भएर बन्दसत्र तनावपुर्ण बनेको थियो । पहिलो चरणमा ८१ जना छानिए पछि उनीहरु मध्येबाट फेरि अध्यक्षसहित पदाधिकारीहरु छानिनेछन् ।
माओवादी केन्द्रका अध्यक्ष सुर्दशन श्रेष्ठले केही प्रतिनिधिहरुले मदिरा पिएर आएर हो हल्ला गरेपछि विवाद भएको बताए । तर, उनले तोडफोड भने नभएको दाबी गरे । ‘कोही निर्वाचन नगरौ भन्ने, कोही आजै सकौं भन्ने थियो । केही साथीहरुले वल देखाउन पनि खोजे,’उनले भने,‘प्रतिनिधिहरुलाई राती अबेर पनि भइसकेकोले समस्या हुने भएपछि स्थगित गरिएको हो ।’
अर्का नेता अशोक राईले पनि बन्द सत्रमा तोडफोड नभएको जिकिर गरे । तर, विवाद भएर ठेलमठेल भएको स्वीकार गरे । उनले भने,‘तोडफोड भएको छैन । ठेलमठेलसम्म भएको हो,’उनले भने । विवादले स्थगित भएको बन्दसत्र अब कहिले हुन्छ भन्ने पनि यकिन छैन । अध्यक्ष श्रेष्ठ प्रतिनिधिहरुलाई सुचना जारी गरेर बन्दसत्र गरिने बताउँछन् ।