धरान:नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विराटनगरमा जारी प्रदेश १ अधिवेशनमा उमेश थापाले महामन्त्रीमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
धरानका कांग्रेस नेता थापाले पौडेल–कोइराला समुहबाट महामन्त्रीमा उम्मेदवारी दिएका हुन् । थापा १४ औं महाधिवेशनको महाधिवेशन प्रतिनिधि हुन् । उनी १३ औं महाधिवेशनबाट महासमिति सदस्य भएका थिए । वीपी प्रतिष्ठानमा कार्यरत थापा कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष पनि हुन् भने नेपाल रेडक्रस सोसाइटी सुनसरीका निवर्तमान सभापति पनि हुन् ।
सभापतिमा थापा र घिमिरेको मनोनयन दर्ता
प्रदेश १ सभापतिमा संस्थापन पक्षबाट उद्धव थापा र इतर पौडल कोइराला समुहबाट गुरुराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनमा सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाबीच सहकार्य भएको छ भने इतर समुहमा रामचन्द्र पौडेल र डा.शेखर कोइराला बीच सहकार्य छ । संस्थापनका सभापतिका उम्मेदवार थापा झापा निवासी हुन् । इतर समुहका उम्मेदवार घिमिरे विराटनगरका हुन् । घिमिरे नेवि संघका पुर्वसभापति पनि हुन् ।
घिमिरे प्यानलबाट महामन्त्रीमा थापासँगै संखुवासभाका निवर्तमान सभापति जीवन श्रेष्ठको पनि उम्मेदवारी दर्ता भएको छ । यस्तै, थापा प्यानलबाट महामन्त्रीमा पदम पालुंवा ताप्लेजुङ र भुपेन्द्र राई खोटाङले उम्मेदवारी दिएका छन् । मनोनयन दर्ताको समय थप गरिएको र दुवै समुह अन्य उम्मेदवारहरुको बिषयमा छलफल जारी रहेको सुनसरी क्षेत्र नं १ सभापति सुजेन्द्र तामाङले जानकारी दिए । ‘उम्मेदवारी मनोनयन दर्ताको समय थप भएको छ, छलफल जारी छ,’उनले भने । भोली शनिबार नेतृत्व चयन गर्न बिहान ८ बजेदेखि २ जबेसम्म मतदान हुनेछ ।