धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदको लागि भएको मतदानमा कोही पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ ।

अब हुने दोस्रो चरणको मतदानमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा र डा.शेखर कोइरालाबीच मात्र चुनावी प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस विधान अनुसार ५० प्रतिशत मत ल्याउन नसकेमा दोस्रो चरणको मतदान गर्नुपर्ने हुन्छ । दोस्रो चरणको मतदानमा भने पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउन २ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुन्छ ।

आइतबार भएको पहिलो चरणको मतदानमा सभापतिमा ५ जना उम्मेदवार थिए । उक्त मतदानमा कुल ४६७९ मत खसेको थियो । सभापतिमा निवार्चित हुन २३४० मत आवश्यक थियो । देउवाले २२५८ मत मात्र पाए भने कोइरालाले १७४९ मत पाए । यस्तै, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधीले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका थिए । यी ३ जना उम्मेदवारहरु दोस्रो चरणको निर्वाचन प्रक्रियामा उम्मेदवारबाट स्वतः बाहिरिएका छन् । उनीहरु प्रतिस्पर्धाबाट बाहिरिए पनि दोस्रो चरणको मतदानमा भने निर्णायक शक्ति भएका छन् । सिंह वा निधिमध्ये एक जनाले मात्र समर्थन गरेमा देउवाको जित सुनिश्चित हुने देखिन्छ । यद्यपी, उनीहरुले देउवा र कोइरालामध्ये कसलाई रोज्छन् भन्ने प्रष्ट भइसकेको छैन ।