धरान: नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र १ प्रदेश सभा १ को पहिलो बैठक सम्पन्न भएको छ ।
शनिबार धरान वडा नं. २ स्थित पार्टी कार्यालयमा समितिका सभापति अनिल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले कोषाध्यक्षमा रमिना सुब्बालाई चयन गरेको छ । समितिका सचिव युवराज शंकरका अनुसार सभापति पदका प्रत्यासी उम्मेद्वार मदन ढकाललाई समेत वरिष्ठ सदस्य पदमा चयन गरिएको छ । विधानको धारा ६५ अनुसार ढकाललाई बरिष्ठ सदस्य पदमा चयन गरिएको सचिव शंकरले जानकारी दिए ।
यस्तै, पहिलो बैठकले पदाधिकारी तथा सदस्यहरुबाट मासिकरुपमा लेवी उठाउने निर्णय समेत गरेको छ । कार्यसमितिलाई आर्थिक रुपमा सवल बनाउन, विभिन्न कार्यक्रमहरु आयोजना गर्न सहजताको लागि लेवी उठाउने निर्णय गरिएको सचिव शंकरले बताए । यसैगरि बैठकले नगर कार्यसमिति र १५ वटा वडा समितिलाई पत्राचार गरि मतदाता नामावली भर्न मतदाताहरुसँग निरन्तर सहकार्यमा रहेर सहयोग अपिल गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा विभिन्न कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु विभिन्न सामाजिक संघ संस्थामा विजयी भएका बधाई समेत दिईएको थियो भने १४ औं महाधिवेशन सफल पार्र्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने काँग्रेसका कार्यकर्ता, क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधिहरूलाई धन्यवाद समेत दिईएको सचिव शंकरले बताए ।