विराटनगर: प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सरकारले जनतामा निराशा पैदा हुन नदिने बताएका छन् ।
मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले सरकारले शासक जस्तो नभई जनताको सेवक भएर काम गर्ने बताए । सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्ने उनको भनाई छ ।
अघिल्लो दुई तिहाईको सरकार र त्यसको नेतृत्व गरेका केपी शर्मा ओलीको तानाशाही शासक बन्ने मानसिकताका कारण फेरि पनि लोकतन्त्रका अवयव अन्योलको भूमरीमा फस्न पुगेको बताउँदै उनले त्यसलाई सही ठाँउमा ल्याउन चुनौती रहेको पनि बताए । नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकको विकास सम्भव रहेको जिकिर गर्दै उनले कांग्रेससहित गठबन्धन दल त्यही भूमिकामा रहेको पनि बताए ।
उनले १४ वटै जिल्ला अन्तरगत प्रहरी चौकीहरुको मर्मत सम्भार गरि पूर्वधारको विकास गर्ने पनि बताए । अपराधिक घटना नियन्त्रण गर्ने, अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाई समाजमा पुनःस्थापित गराउने दायित्व मन्त्रालयले ग्रहण गरेको मन्त्री कार्कीको भनाई थियो ।
ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो रहेको बताउँदै उनले भारत तथा तेस्रो देशबाट आउने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिने व्यवस्था मिलाएको बताए । साथै, संक्रमित पहिचान भएकालाई कोभिड १९ उपचार केन्द्र, होल्डिङ सेन्टर लगायत उपयुक्त तोकिएको ठाउँमा राखेर उपचार गरिरहेको मन्त्री कार्कीले बताए ।
विपद व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय, युवा, विद्यार्थीलगायत नागरिक समाजसँग हातेमालो गर्दै तालिम, जनचेतना मूलक कार्यक्रम मन्त्रालयले गर्दै आएको उनको भनाई छ । प्रदेशको १३७ वटै पालिकामा स्वयम्सेवक समूह गठन गर्ने र यो समूहले विपद् व्यवस्थापन एवं लागूऔषधविरुद्ध अभियान पनि सञ्चालन गरिने मन्त्री कार्कीले बताए ।
प्रदेशका सबै कारागारको व्यवस्थापनमा सुधार ल्याउने र निर्माण भएको कानूनलाई अध्ययन गरी संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने बताउँदै न्यायमा पहुँच नपुगेका नागरिकलाई सहायता गर्न प्रत्येक जिल्लामा सहायता कक्ष स्थापना गर्ने भन्दै सडक दुर्घटना कम गराउन सडक सुरक्षामा सरकार विशेष ध्यान दिने पनि मन्त्री कार्कीले बताए । आइतबार झापा कारागारको निरिक्षण गरेका मन्त्री कार्कीले अब चाँडै मोरङ कारागारको पनि निरिक्षण गर्ने र प्रदेशका सबै कारागारलाई व्यबस्थित बनाउने बताए ।
ट्राफिक सप्ताह होइन, ट्राफिक सदा नारा आवश्यक छ भन्दै उनले ट्राफिक व्यवस्थापनमा सुधार गर्ने पनि बताए । ट्राफिक प्रहरीसंग कसैको सोर्स नलागोस भन्दै उनले ट्राफिक अपराध सबैलाई कानूनी दायरामा ल्याइने बताए । मन्त्री कार्कीले प्रदेशबाटै राजपत्र छाप्न मेशिन खरिद गर्ने प्रक्रिया अघि बढिसकेको बताउँदै सबैको हातहातमा राजपत्र पुर्याउने पनि बताए । प्रदेश १ का सञ्चार गृहको तथ्यांकीकरण गर्ने, पत्रकारको क्षमता अभिवृद्धि, संस्थागत विकासका साथै सञ्चारगृहहरुको अनुगमन गरी समस्या पहिचान गरिने उनले बताए । नोवेल मेडिकल कलेजमा देखिको विषयलाई गम्भीर रुपमा लिएको बताउँदै उनले समस्याका समाधान गर्न पहल गर्ने बताए ।