धरान: धरान वडा नं ९ तर्फ पनि पुतलीलाइन सडकलाई ५० फिट मापदण्ड वमोजिम विस्तार गर्न वडा कार्यालयले पहल थालेको छ । 

वडा कार्यालयले स्थानीय घरधनीहरुको भेला गरेर कुन्दन श्रेष्ठको संयोजकत्वमा पहल समिति गठन गरेको थियो । उक्त समितिको समन्वयमा आज (सोमबार) वडा नं ९ तर्फको पुतलीलाइन सडक नापजाँच कार्य सम्पन्न भएको छ । उपमहानगरपालिकाको प्राविधिक टोली ल्याएर भानुचोकदेखि पश्चिम वडा १० सम्मको सिमाना भगवती मन्दिरसम्म सडक नापजाँच भएको हो । वडा नम्बर १० तर्फभने गत साता नै वडा कार्यालयले सहजीकरण समिति गठन गरेर नापजाँच कार्य सम्पन्न गरिसकेको छ । 

भानुचोकदेखि शुरु भएको यो पुतलीलाइन सडक धरानको प्रमुख व्यापरिक र ब्यस्त सडकमा पर्छ । अहिले अधिकतम ३० फिट रहेको यो सडकमै सवारी पार्किंग पनि हुँदा ज्यादै साँघुरो हुन्छ । धरानको मुख्य सडकहरुलाई ५० फिट मापदण्ड वमोजिम विस्तार गर्ने नीति अनुरुप पुतलीलाइन सडक पनि विस्तार गरिन लागेको हो । भानुचोकदेखि पुर्वतर्फको देशीलाइन सडक पनि ५० फिट मापदण्डमा विस्तार भइसकेको छ । 

rupesh-acharya

नापजाँच कार्य भइरहदा केही घरधनीहरुले असन्तुष्टी जनाए भने केहीले सडक विस्तार हुँदा घर भत्किए पनि सकरात्मक प्रतिक्रिया दिएका थिए । आफ्नो घर भत्कदा दुःखी हुनु स्वभाविक भएको भन्दै वडा नं ९ का अध्यक्ष रुपेश आचार्यले ५० फिट मापदण्ड भित्र के कति घर तथा भौतिक संरचनाहरु पर्छन् भनेर सर्वे गरिएको बताए । अब कति घर वा संरचना ५० फिट भित्र पर्छ भन्ने खुलेको कारण सम्बन्धित घरधनी र उपमहानगरपालिकासँग छलफल गरेर सहमतिबाटै निर्णय लिइने उनले बताए । सहजीकरण समिति संयोजक कुन्दन श्रेष्ठले पनि घरधनीहरुसँग छलफल गरेर नै अघि बढ्ने बताए । 

putaliline

वडा नं १० का वडाअध्यक्ष विवेक राईले गतसाता नापजाँच गर्दा २७ वटा घरलाई छोएको र त्यसमध्ये १२ वटामा सटरभित्र पुग्ने देखिएको बताए । अन्य घरको सटर वा ढोकासम्म छुने भन्दै उनले यो साताभित्र ती २७ वटा घरधनीहरुसँग उपमहानगरपालिकाका प्राविधिकहरुसँगै पुनः छलफल गर्ने पनि अध्यक्ष राईले बताए । 

भिडियो: