विराटनगर: राजधानीको ललिता निवास एवं वालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई भ्रष्टचार अभियोगमा मुद्दा दर्ता गरेपछि नेपाली कांग्रेसले प्रदेश नं १ को प्रदेशसभा अवरुद्ध गरेको छ ।
कांग्रसले पुर्वाग्रही भएर नेकपा नेताहरुलाई छुट दिएर कांग्रेस नेता गच्छदारलाई भने मुद्दा चलाएको आरोप लगाउदै आज प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । सदन शुरु भएलगत्तै आजको बैठकमा कांग्रेसका सांसदहरुले उठेर सदन अवरुद्ध गरेका थिए । कांग्रेसका सचेतक सुर्यमाराज राईले राजनैतिक पुर्वाग्रहको आधारमा मुद्दा चलाएको भन्दै विरोध जनाए । अख्तियारले बिशेष अदालतमा मुद्दा दर्ता गरेपछि गच्छदार प्रतिनिधिसभा सदस्यबाट निलम्बित भइसकेका छन् । उनी सुनसरीबाट निवार्चित सांसद हुन् ।
कांग्रेसले सोही प्रकरणमा विवादमा तानिएका पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, डा.बावुराम भट्टराई, पुर्व मुुख्य सचिब लिलामणी पौडेल, नेकपाका महासचिब बिष्णु पौडेल र न्यायाधिश कुमार रेग्मीलाई अख्तियारले कारबाही नगरी छुट दिएको भन्दै आक्रोशित छ । प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले पटक पटक कांग्रेस सांसदहरुलाई बस्न र वैठक सुचारु गर्न आग्रह गरेपनि कांग्रेसले सदन अवरुद्ध गरेको थियो । कांग्रेस सांसदहरुले बैठक चल्न नदिएपछि प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित गरिएको छ । प्रदेशसभाको हिउँदे अधिवेशन माघ २३ गतेबाट शुरु भएको हो । यो अधिवेशनमा प्रदेशको नामकरणको बिषयमा प्रस्ताव दर्ता भएर निर्णय हुने अपेक्षा गरिएको छ ।