धरान: जिल्ला प्रहरी कार्यालय सुनसरीले बराह बचत तथा ऋण सहकारी संस्थाका पीडित सेवाग्राहीहरुलाई उजुरी गर्न आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालयले एक सुचना जारी गर्दै सहकारी ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धान गर्ने क्रममा सहकारीबाट पीडित भएका बचतकर्ता र शेयरधनीको उजुरी लिने कार्य भइरहेकोले जाहेरी दरखास्त दिन आग्रह गरेको हो । प्रहरी कार्यालयले आवश्यक समन्वय तथा सम्पर्कको लागि प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामप्रसाद तिम्सिनालाई ९८५२०५४७२८ र प्रहरी निरीक्षक एवं सहप्रवक्ता दिनेश अधिकारीलाई ९८५२०९०३३० मा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
शंकर थापा क्षेत्रीलगायत बराह पीडितहरुले दिएको उजुरीको आधारमा नेपाल प्रहरीले सहकारी ठगी सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । बराह ग्रुप अफ कम्पनी र त्यसअन्तर्गतको सहकारीले १४ अर्ब भन्दा बढी रकम हिनामिता तथा ठगी गरेको अनुसन्धान प्रतिवेदनबाट खुलेको छ ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बराह सहकारीका अध्यक्ष मानबहादुर दियालीकी श्रीमति, सञ्चालक तथा ऋण उपसमिति संयोजक गंगा कालिकोटेकी श्रीमति, ऋण उपसमिति सदस्य अस्मिता भण्डारी, एकाण्टेन्ट अर्पण श्रेष्ठ, लेखा सुपरिवेक्षण संयोजक सुदिन ल्वागुन, ऋण उपसमिति सदस्य शेरबहादुर महतलगायत ९ जना पक्राउ परिसकेका छन् ।
प्रहरीले बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिव लामिछाने, बराह सहकारीका अध्यक्ष र ग्रुप अफ कम्पनीका सचालकसमेत रहेका मानबहादुर दियाली, ऋण समितिको संयोजक गंगा कालिकोटे, सौराज भनिने अमरबहादुर विकको खोजी तीब्र पारेपनि पक्राउ गर्न सकेको छैन ।