धरान: भोजपुर जिल्लालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टिचिङ डिष्ट्रिक बनाउन भोजपुर सुनसरी सेवा समाजले माग गरेको छ ।
समाजको पदाधिकारीहरुले अइतबार प्रतिष्ठानका कार्यवाहक उपकुलपति एवं रेक्टर प्रा.डा.गुरु खनाललाई भेटेर यो माग गरेको हो । भेटमा समाजकी अध्यक्ष निर्मला राईले कार्यवाहक उपकुलपति डा.खनाललाई माग पत्र पनि बुझाएकी थिइन् । समाजले भोजपुर जिल्लाबासीको स्वास्थ्य सेवालाई गुणस्तरीय तथा सर्वसुलभ बनाउने उद्देश्यले प्रतिष्ठानलाई यस्तो अनुरोध गरिएको जनाएको छ । समाजको अनुरोध प्रतिष्ठानको लक्ष्य अनुसार नै भएकोले पनि टिचिङ डिष्ट्रिककोरुपमा सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ ।समाज भोजपुरमा जन्मिएर हाल सुनसरीमा बसोबास गर्दै आएकाहरुको साझा संस्था हो ।
प्रतिष्ठानले साविक पुर्वका १६ जिल्लालाई टिचिङ डिष्ट्रिककोरुपमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको थियो । हाल विभिन्न ८ जिल्लामा मात्र प्रतिष्ठानले टिचिङ डिष्ट्रिककोरुपमा सेवा पुर्याउन सकेको छ । प्रतिष्ठानको प्रशासन फाँटका वरिष्ठ सहायक महेश्वर राईका अनुसार इलाम, झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, उदयपुर र धनकुटा टिचिङ डिष्ट्रिककोरुपमा प्रतिष्ठानले सेवा विस्तार गरेको छ ।
प्रतिष्ठानका अनुसार टिचिङ डिष्ट्रिककोरुपमा सेवा विस्तार गरिएको जिल्लास्थित अस्पतालमा युजि(स्नातक) र पिजि(स्नातकोत्तर) उतीर्ण इन्टर्न विद्यार्थीहरु सेवा दिन जाने गर्छन् । प्रतिष्ठानको युजिमा ९ सेमेस्टर(५४ महिना) पढाई हुन्छ । एमबिबिएस पास भएपछि विद्यार्थीहरु इन्टर्न हुन्छन् । उनीहरु एक बर्ष विभिन्न विभागमा डाक्टरकोरुपमा प्राक्टिकल/अभ्यास गर्ने, सिक्ने र सेवा दिने गर्छन् । प्रतिष्ठान बाहिर पनि उनीहरु टिचिङ डिष्ट्रिकमा कम्तीमा ४ महिनादेखि ६ महिनासम्म विद्यार्थीहरु सिक्न र सिकेको कुरा लागु गर्न जान्छन् । सुपरभाइजर चै पोष्ट ग्रायजुएट(स्नातकोत्तर) विद्यार्थी हुन्छन् । वीपी प्रतिष्ठान जस्तो उच्चस्तरको संस्थामा अध्ययन र अभ्यास गरेका डाक्टरहरुबाट विभिन्न जिल्लाका नागरिकहरु पनि लाभान्वित हुन्छन् ।