काठमाडौँ: प्रदेश नं १ प्रहरी प्रमुख रहेका डिआईजी ठाकुर ज्ञवालीलाई सरकारले प्रहरी महानिरीक्षक(आइजिपि)मा बढुवा गरेको छ ।

आज मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी ज्ञवालीलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । उनी नेपाल प्रहरी २७ औं महानिरीक्षक भएका छन् । ज्ञवाली २०७५ असोजमा डीआईजीमा बढुवा भएका थिए । उनी २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।

आइजिपीबाट सर्वेन्द्र खनालले आजै अवकाश पाएका छन् । उनको ३० बर्षे सेवा अवधिको कारण अनिवार्य अवकाश भएको हो । आईजिपी खनालसँगै एआइजीहरुको पनि अनिवार्य अवकाश भएकोले सरकारले डिआइजीहरुमध्येबाट आईजीपीमा बढुवा गर्नुपरेको हो । आईजीपी खनालसँगै तीन एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात पनि अवकाश पाएका छन् भने अन्य १८ डीआईजीले पनि आज मंगलबारबाटै अवकाश पाएका छन् ।