धरान: उपचारमा ल्याए पनि रिफर गरिसकेको बच्चाको मृत्यु भएपछि धरान १० स्थित विजयपुर हस्पिटलमा केहीबेरअघि तोडफोड भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार ढिलो हुने भन्दै सुनसरीको रामधुनी नगरपालिका ७ का राजेन्द्र कार्कीले ५ महिनाको बच्चालाई उपचार गर्न विजयपुर हस्पिटल लगेका थिए । त्यहाँ करिब ३ घण्टा जति उपचार गरेपछि मुटुमा समस्या भएको भन्दै चिकित्सकले विराटनगर रिफर गरिदिएको थियो ।

विजयपुरबाट रिफर भएपछि विराटनगर लैजाने क्रममा बाटोमा नै बच्चाको निधन भएको थियो । मृतक बच्चाका अभिभावक एवं आफन्तजनहरुले विजयपुरमा लापरवाही भएको भन्दै हस्पिटलको काउण्टरमा तोडफोड गरेका हुन् । यो घटना पछि प्रहरीले हस्पिटल तत्कालको लागि बन्द गराएको छ । अभिभावकहरुले गलत औषधी प्रयोग गरेको आरोप लगाएका छन् भने हस्पिटलले उक्त आरोप खण्डन गरेको छ । हस्पिटलका निर्देशक प्रभाव खतिवडाले उपचारको क्रममा मुटुमा समस्या भएको थाह पाउने बित्तिकै रिफर गरिएको र लगत औषधी चलाएको आरोप सत्य नभएको बताए ।