इटहरी: फागुन १४ देखि २२ गतेसम्म दादुरा र रुवेला विरुद्धको खोपका लागि इटहरी उपमहानगरमा तयारी तिव्र पारिएको छ ।
इटहरीमा ९ महिनादेखि ५ बर्षमुनिका १४ हजार २ सय ४७ वालवालिकालाई दादुरा र रुवेला विरुद्धको खोप दिइनेछ । दादुरा रुवेला खोप अभियानकै अवसरमा जन्मेदेखि पाँच बर्ष सम्मका १७ हजार ३ सय ४६ वालवालिकालाई पोलियो थोपा समेत खुवाइने कार्यक्रम रहेको उपमहानगर स्वास्थ्य संयोजक रामचरण चौधरीले जानकारी दिए । इटहरीका ६४ स्थानमा खोप प्रदान गर्न २४ जनालाई तालिम दिएको पनि उनले बताए ।
उपमहानगरले इटहरीका सबै वडामा अभिमुखिकरण कार्यक्रम पनि आयोजना गरिरहेको छ । जन्मेदेखि पाँच बर्षसम्मका वालवालिका रहेका सवै घरहरुमा खोपका लागि निम्तो कार्ड पुरयाइन जनस्वास्थ्य निरीक्षक घनश्याम सिग्देलले बताए । खोप अभियानका लागि १ सय ८५ जना स्वयंसेवक परिचालन गरिने छ ।
अभियानको लागि उपमहानगरले सरोकारवालाहरुसँग नगरस्तरीय अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा इटहरी अस्पतालका डा मनिष शर्मा, स्वास्थ्यकर्मी रामकुमार धमला र जिल्ला जनस्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स सृजना लिङ्गथेपले रुवेला दादुरा खोप अभियानको महत्वका बारेमा प्रष्ट पारेका थिए । इटहरी उपमहानगर वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराईले खोप अभियान सम्पन्न गर्न कार्यपालिकाले भरपुर सहयोग गर्ने बताए । सामाजिक विकास तथा स्वास्थ्य महाशाखा प्रमुख भोजकला दवाडीले वालवालिकाको स्वस्थ्य भविश्य सुनिश्चिताका लागि खोप अभियान सफल वनाउन सम्वन्धित सवै सरोकारवालाहरुसँग आग्रह गरे ।