धरान: आज २५ औं जनयुद्ध तथा शहिद स्मृति दिवस सत्तासिन पार्टी नेकपाले देशभर मनायो ।
विभिन्न कार्यक्रम गरी मनाउने क्रममा नेकपाले बिहान धरानमा पनि भानुचोकमा रक्तदान कार्यक्रम गर्यो भने साँझमा दिप प्रज्वलन पनि गर्यो । तत्कालिन माओवादी पार्टीले २०५२ फागुन १ गते प्रहरी चौकीमा आक्रमण गरेर जनयुद्धको शुरुवात गरेको थियो । यही दिनलाई तत्कालिन माओवादी र अहिले नेकपाले जनयुद्ध दिवसकोरुपमा मनाउदै आएको छ । विडम्बना के छ भने देशभर जनयुद्ध दिवस मनाइरहदा हिजो परिवर्तनको लागि हतियार उठाएर सँगसँगै लडेका सहकर्मीहरु भने अहिले पनि प्रहरीको हिरासतमा छन् ।
नेत्रबहादुर चन्द विप्लवसँगै केही पुर्वलडाकु, नेताहरु भुमिगत अवस्थामा छन् । विध्वंसात्मक गतिविधि बढेको भन्दै सरकारले चन्द नेतृत्वको पार्टीको गतिविधिहरुमा प्रतिबन्ध लगाएको छ । चन्द समुहमै रहेको चर्चित जनवादी संगीतकार, गायक माइला लामा र पुर्व बिग्रेड कमाण्डर दिपेश राई ईलाका प्रहरी कार्यालय धरानको हिरासतमा छन् । लामा विप्लव नेतृत्व पार्टीको केन्द्रीय सचिवालय सदस्य पनि हुन् । उनी जनयुद्ध शुरुवातकालदेखि नै सक्रिय रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । लामा जनयुद्धकालमा तत्कालिन माओवादी पार्टीको महत्वपुर्ण साँस्कृतिक फाँट रहेको सामना जनसाँस्कृतिक परिवारको संस्थापक अध्यक्ष पनि हुन् ।
बिहिबार जनयुद्ध दिवस मनाउदै गर्दा धरानका नेकपाका केही कार्यकर्ताहरु(जो पुर्वमाओवादी हुन्) उनलाई भेट्न इलाका प्रहरी कार्यालयमा पुगेका थिए । ‘जनयुद्धमा सँगै हिडेका आफ्नै पुर्वसहकर्मीहरु सत्तामा छन्, उहाँहरु चै प्रहरी हिरासतमा बस्नु परिरहेको छ, उहाँहरुको अवस्था देख्दा मन दुःख्यो,’माइला लामा र दिवस राईलाई भेट्नेहरुमध्ये एक जनाले भने,‘उहाँहरुलाई शान्तिपुर्ण राजनीतिमा ल्याउने प्रयास नेताहरुले गर्नुपर्ने हो ।’
सशस्त्र संघर्षमा होमिएको तत्कालिन वृहत माओवादी शान्ति सम्झौता, सेना समायोजन गर्दै शान्तिपुर्ण राजनीतिको मुलधारमा आएको थियो । विभिन्न पार्टीसँग एकीकरण हुदै नाम फेरिएको तत्कालिन माओवादी पछिल्लो समय एमालेसँग एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बनेको छ । चुनावमा बहुमत पाएर नेकपा सत्तामा पनि छ ।
माइला लामालाई हातहतियार र खरखजना मुद्दा
धरानमा माइला लामा, दिपेश राईसहित अन्य पनि विप्लव नेतृत्वका नेता, कार्यकर्ताहरु हिरासतमा छन् । उनीहरुलाई अड्डासार गर्दै झण्डै एक साताअघि धरान ल्याइएको हो । यहाँ गत बर्ष धरान ६, पानवारमा वरामद भएको अत्याधुनिक हतियारसँग जोडेर मुद्दा चलाइएको छ । त्यसबेला प्रहरीले चेकिङको क्रममा मोटरसाइकलमा सवार कोशी ब्युरो सदस्यसहित अत्याधुनिक हतियार वरामद गरेको थियो ।
सरकारले पक्राउ परेका विप्लव समुहका नेता, कार्यकर्ताहरुलाई जहाँ जहाँ हातहतियार वरामद भएको छ वा कुनै विष्फोटका घटना भएको छ भने अड्डासार गर्दै त्यही क्षेत्रमा मुद्दा चलाउन लैजाने गरेको छ । माइला लामा र उनका साथीहरुलाई पनि सोही क्रममा धरान ल्याइएको हो । यहाँ पनि केही दिनसम्म राखेर अन्य जिल्लामा प्रहरीले पठाउने तयारी गरेको स्रोतको भनाई छ ।