विराटनगर: प्रदेश नं १ मा प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुरा भएको छ । मुख्यमन्त्री शेरधन राईले २०७४ फागुन ३ गते प्रदेश प्रमुखबाट सपथ लिएर सरकार गठन गरेका थिए ।
प्रदेश सरकार गठनको दुई बर्ष पुरा भएको अवसरमा आज शनिबार प्रदेश राजधानी विराटनगरमा आयोजिक कार्यक्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले दुई बर्षमा सरकार कतै नचुकेको बताए । उनले अनेक अप्ठ्यारा र असहजताको बाबजुद पनि प्रदेश सरकार सही बाटोमा सकरात्मक उपलब्धीको साथ यहाँसम्म आइपुगेको बताए । ‘हामी कतै चुकेनौ, कही झुकेनौं, गलत पनि गरेनौं,’मुख्मयन्त्री राईले भने,‘यो दुई बर्षे कार्यकाल मुलतः संविधान र संघीयता कार्यान्वयनको आधार तयार गर्ने महत्वपुर्ण बर्षकोरुपमा रहेको मैले ठानेको छुँ ।’ दुई वर्ष अघि जिम्मेवारी सम्हाली रहँदा आजको जस्तो भौतिक तथा कानुनी आधारका संरचनाहरु केही नभएको पनि मुख्यमन्त्री राईले स्मरण गरे ।
प्रदेश संरचनालाई बलियो बनाउँदा मात्र संघीयता प्रभावकारी हुन सक्दछ भन्ने मर्म र बुझाईसहित प्रदेश सरकार प्रादेशिक संरचनाहरुलाई व्यवस्थित गर्ने कुरामा सरकार केन्द्रित रहेको मुख्यमन्त्री राईले बताए । नयाँ संघीय प्रणालीको कार्यान्वयन, प्रयोग र अभ्यासमा समय लाग्ने बताउदै उनले नयाँ थिति र प्रणाली बसाल्नुपर्नेमा उनले जोडदिए । मुख्यमन्त्री राईले भने,‘हामीले तयार गर्ने आधार र बसाल्ने थिति अनि प्रणाली भनेको आगामी पाँच वर्षको लागि मात्र नभई सूदुर भविष्यसम्मको आधारशीला पनि हो ।’
३९ कानुन तर्जुमा, राजधानी तोकियो
प्रदेश सरकारले सिमित साधन स्रोतहरुको प्रयोग गरी जनताका आकांक्षाहरुको सम्बोधन गर्दै अगाडि बढीराखेको मुख्यमन्त्री राईले बताए । प्रदेश सरकारले कम्तिमा जनताका न्युनतम आकांक्षाहरुलाई सम्बोधन गर्दै एउटा दरिलो आशा, विश्वास र भरोसा जगाउन सफल भएको मुख्यमन्त्री राईको दाबी थियो । दुई वर्षमा संघीयता र संविधान कार्यान्वयनका लागि प्रदेशको क्षेत्राधिकारका विषयमा ३९ वटा कानुन तर्जुमा गरेको उनले बताए ।
‘कानुन कार्यान्वयनमा सघाउ पुर्याउन विभिन्न नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड र गठन आदेशहरुको तर्जुमा भएको छ । प्रदेशसभाबाट हाम्रो प्रदेशको राजधानी सर्बसम्मतीमा तोक्ने काम सम्पन्न भएको छ,’मुख्यमन्त्री राईले भने,‘म विशेष गरेर प्रदेश सभा माननीय सभामुख, उपसभामुख, प्रदेशसभामा प्रतिनिधित्व गर्ने सत्तापक्ष, प्रमुख विपक्षी दल, अन्य सवै दलसँग सम्वद्ध माननीय सदस्यहरु, आम नागरिक समाज, संचार जगत सबैलाई आभार व्यक्त गर्न चाहन्छु ।’
२०७७ बैशाखमा लगानी सम्मेलन गरिने
मुख्यमन्त्री राईले प्रदेशको विकासमा स्वदेशी तथा निजी क्षेत्रको लगानी भित्र्याउन आगामी बर्ष २०७७ बैशाखमा लगानी सम्मेलनको तयारी भइरहेको बताए । उनका अनुसार सार्बजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन, २०७६ बमोजिम आवश्यक प्रक्रिया अघि बढाउन आयोजना बैंक तयार गरिने पनि बताए । पहिलो चरणमा सूचीकृत २६ परियोजनाहरुलाई समावेश गरी अगाडि बढाउने तयारीको साथ सम्मेलन हुने मुख्यमन्त्री राईको भनाई थियो ।
मुख्यमन्त्री राईले 'स्वच्छ, सुखी र समुन्नत प्रदेश'को दीर्घकालिन सोच र उद्देश्यसहित प्रथम आवधिक योजना तर्जुमा गरेर सार्वजनिक गर्न सफल भएको पनि बताए । प्रथम आवधिक योजनासँगै विकास आयोजनाको प्राथमिकीकरण गरी खर्चको मितव्ययीता र प्रभावकारीता बढाउन मध्यमकालिन खर्च संरचना लागु गरिएको पनि उनले बताए । प्रदेशको तीब्रतर र व्यवस्थित आर्थिक विकासको लागि प्रदेश योजना आयोग र प्रदेश लगानी बोर्ड गठन गरिएको पनि मुख्यमन्त्री राईले बताए ।
प्रदेशिक सडक सञ्जालको गुरुयोजना
प्रदेश सरकारले दुई बर्षमा प्रादेशिक सडक सञ्जालको १० वर्षे गुरुयोजना बनाउनुलाई मुख्यमन्त्री राईले उपलब्धीकोरुपमा प्रस्तुत गरे । रसकेका छौं । साना सिंचाई, सहरी विकास, पर्यटन विकास लगायतको १० वर्षे गुरुयोजनाले पनि अन्तिम रुप लिन लागेको उनले बताए ।
पूर्वाधारतर्फ २७ किलोमिटर सडक कालोपत्रे, १२९ किलोमिटर सडक ग्राभेल, १० वटा मोटरेवल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पनि मुख्यमन्त्री राईले जानकारी दिए । यस्तै, प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा १–१ वटा गरी जम्मा ६२ वटा बहुवर्षीय सडक, ८७ वटा मुख्यमन्त्री ग्रामिण सडक, १२६ वटा मोटरेवल पुल र ११४ वटा झोलुङ्गे पुल धमाधम निर्माण भइरहेको पनि बताए ।
यसैगरी, प्रदेशका खेती योग्य जमिनहरुमा सिंचाई पुर्याउन १२९ वटा योजनाहरु सम्पन्न भएको छ भने ६३१ वटा योजनाहरु निर्माणाधिन रहेको पनि मुख्यमन्त्री राईले बताए । खानेपानीका आयोजनाहरु ११० वटा सम्पन्न भएका छन् भने ९४९ वटा आयोजनाहरु बनिरहेको पनि खुलाए । ‘प्रदेशका विपन्न तथा पिछडिएका जनताका लागि “जनता आवास कार्यक्रम” अन्तर्गत १७१ वटा घर निर्माण सम्पन्न भएका छन्,’मुख्यमन्त्री राईले भने ।