काठमाडौ: एक महिनाभित्र आफ्ना मागहरु पुरा नभए आमरण अनसन सुरु गर्ने भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले चेतावनी दिएका छन् ।
भूपू गोर्खा सैनिकहरुले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एक महिनाभित्र आफुहरुको माग पुरा गर्नुपर्ने अडान दोहोर्याए । भूपू गोर्खा सैनिकहरुले समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ति, बयस्क छोरा(छोरीहरुलाई बेलायतमा निःशर्त आवासीय भिसा दिनुपर्ने माग गर्दै आइरहेका छन् । बेलायत सरकारको असमान व्यवहार गरेको, सेवाको स्वच्छ मूल्यांकन नभएको र मानवीय व्यवहारसमेत नगरेको भन्दै भूपू गोर्खाहरु लामो समयदेखि आन्दोलनमा छन् ।
भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले विधवाहरुको समान पेन्सनको व्यवस्था हुनुपर्ने, भूपू गोर्खा सैनिकहरुको स्वाभिमान, राष्ट्रियता, मानव अधिकार र सम्मानको अनुभूत गर्नेगरी मागहरु पूरा गर्नुपर्ने पनि बताए । उनले यी मागहरु नेपाल सरकार र बेलायत सरकार दुवैलाई गरिएको खुलाए । भूपू गार्खाहरुले मार्च १५, २०२० सम्मको समयसीमा भित्र दुवै देशले वार्ता समिति गठन गरी वार्ताको सुरुआत गर्ने अपेक्षा राखेका छन् । उक्त समयसम्म आफ्ना मागहरुको विषयमा गम्भीर नभए आमरण अनसनका साथै मुद्दाहरु लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा जाने चेतावनी समेत दिएका छन् ।