धरान: प्रदेश १ स्तरीय चौथो पुष्प प्रर्दशनी तथा व्यापार मेला आइतबार सम्पन्न भएको छ ।

पाँच दिने पुष्प मेला ४५ लाख हाराहारीको कारोबार गर्दै आज सकिएको हो । धरान १२ स्थित पब्लिक माविको मैदानमा आयोजित मेलामा ७० लाख कारोबार गर्ने आयोजकको भनाई थियो । अपेक्षा गरेभन्दा कम कारोबार भएपनि आयोजक फ्लोरिकल्चर एशोसिएशन सुनसरीले सन्तुष्टी जनाएको छ । ‘नगदमा कारोबार कम देखियो, तर विगत बर्षहरुको भन्दा कारोबार कम भएको होइन,’आयोजक सदस्य प्रेमप्रसाद पराजुलीले भने,‘यसपाली महंगो खालको फूल नभएकोले पनि कारोबार नगदमा कम देखिएको हो ।’

flower1

यसपाली पुष्प मेलाको आयोजनास्थल परिवर्तन भएकोले पनि केही असर परेको संयोजक कल्पना लिम्बुले बताइन् । पुष्प मेला विगतमा धरान १२ स्थित अमान बजारमा लाग्दै आएको थियो । ‘ठाउँ सारिएकोले पनि कारोबारमा केही कमी जस्तो देखियो,’ संयोजक लिम्बुले भनिन्,‘४५ लाख जति कारोबार भयो, यो राम्रो नै कारोबार भएको हो ।’ यसपाली फुलको प्रकारसँगै ड्रागन फल र सेरामिक गमला पनि पुष्प मेलाको बिशेष आकर्षण रहेको थियो । पुष्प मेलामा सिजनल फुलसँगै हाइब्रिड गरिएको नयाँ प्रजातिका फूलहरु बढी बिक्री भएको संयोजक लिम्बुले बताइन् ।