झापाः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धि नचाहने शक्तिले सरकारलाई कमजोर बनाउन चलखेल गरिरहेको र त्यो चलखेल सह्य नहुने बताएका छन् ।
आइतबार गृहजिल्ला झापा आएका प्रधानमन्त्री ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै विकास र समृद्धिको काम देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्तिहरु सरकारविरुद्ध लागेको बताएका हुन् । सरकारलाई चारैतिरबाट कमजोर बनाउने खेल भइरहे पनि त्यसविरुद्ध सरकार ढुक्कसँग लडिरहेको पनि ओलीको भनाई थियो । ‘वर्तमान सरकार जनताको सरकार हो, त्यसैले प्रतिक्रियावादी शक्तिहरुसँग जुध्न यो सरकार सक्षम छ,’प्रधानमन्त्री ओलीले चेतावनीशैलीमा भने,‘जनताकोे विरुद्ध,सरकारको विरुद्ध हुने त्यस्ता चलखेल सरकारलाई सह्य हुदैन ।’
देशलाई समृद्ध बनाउन लडाईमा आफु भएको प्रधानमन्त्री ओलीको दाबी थियो । उनले सुशासन कायम गर्ने र देशलाई विकास र समृद्ध बनाउने अभियानमा अब कसैले पनि रोक्न नसक्ने पनि उद्घोष गरे । प्रधानमन्त्री ओलीले सरकारले दुई बर्षमा उल्लेखनीय प्रगति गरेको दाबी गर्दै लक्ष्य अनुसार नै देश समृद्ध बनाउने काम भएको पनि बताए । ‘अहिले देशले काँचुली फेर्दै गएको छ, विकासको विरोध होइन सँगै काम गरेर अघि बढ्नुपर्ने खाँचो छ,’प्रधानमन्त्री ओलीले भने,‘देशले द्धन्द होइन, शान्ति र समृद्धि चाहेको छ । अब परिवर्तनको नाममा हुने हिंसा र आन्दोलन गर्नुपर्ने दिन पनि सकियो ।’