काठमाडौं: संसद सचिवालयकी महिला सहकर्मीमाथि यौन दुव्र्यवहारको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाण्डौंबाट फैसला हुदैछ ।
हिजो आइतबार महरा प्रकरणमा अदालतमा अन्तिम सुनुवाई भए पनि समय अभावले फैसला हुन सकेको थिएन । त्यसैले अदालतले यो मुद्दा हेर्दाहेर्दैमा राखेको थियो । न्यायधिश अम्बरराज पौडेलको इजलाशले आज अन्तिम फैसला सुनाउनेछ । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनालीलगायतले बहस गरेका थिए भने सरकारी पक्षबाट उमाकान्त खनाल लगायतले वहस गरेका थिए । आज अदालतबाट कस्तो फैसला आउला ? अहिले सवैतिर चासो छ ।
महरामाथि संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा मुद्दा चलाइएको हो । उनी पुर्पक्षका लागि तीन महिना भन्दा बढी समयदेखि डिल्लीबजार कारागारमा रहेका छन् । गत कात्तिक १८ गते अदालतले नै उनलाई पुर्पक्षमा पठाउन आदेश दिएको थियो । पीडित भनिएकी शाहीले महरा आफ्नो डेरामा आएर जर्बजस्ती रक्सी पिलाएर कुटपिट गरेको र करणी प्रयास पनि गरेको वयान मिडियामा दिएकी थिइन् । उनले प्रहरीमा उजुरी पनि दिएपछि महराको सभामुख र सांसद दुवै पद गुम्यो । पछि पीडित महिलाले वयान फेरे पनि अदालतले त्यसलाई स्वीकार नगरे पछि महरा अन्ततः पुर्पक्षको लागि थुनामा छन् ।