विराटनगर: करिब ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके चुडामणी उप्रेती गोरेकी श्रीमतिसहित चार जना अदालतमा सुटुक्क हाजिर भएलगत्तै विभिन्न मितिमा धरौटीमा छुटेको खुलेको छ ।

गोरेकी श्रीमति नर्वदा, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतनाथ भण्डारी, वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस न्युरोडका सञ्चालक गीता श्रेष्ठ र सुनिल श्रेष्ठ जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएर धरौटीमा छुटेका हुन् । उर्लाबारीका समन शाक्य हत्याको अनुसन्धान गर्दा ३८ क्वीन्टल सुन तस्करीमा उनीहरु पनि तानिएका थिए । अभियोग दर्ता पनि उनीहरु फरार थिए । अदालतमा फरक फरक मितिमा हाजिर भएर उनीहरु धरौटीमा छुटेको खुलेको छ । न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासको आदेशबाट उनीहरु धरौटी बुझाएर छुटेका हुन् । जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेका छन् ।

गोरेकी श्रीमती नर्वदा पुष ४ गते हाजिर भएर एक लाख धरौटीमा छुटेकी छिन् भने पुस १६ गते गीता र सुनील श्रेष्ठ पनि हाजिर भएर जनही एक लाख धरौटीमा छुटेका छन् । यस्तै, पुस २१ गते हाजिर भएका चेतनाथ पनि १० लाख रुपैयाँ धरौटी बुझाएउर छुटेका छन् । २०७४ फागुन १८ गते उर्लाबारीका सनम शाक्यको हत्या भएपछि सुन तस्करी प्रकरण बाहिरिएको थियो । त्रिभुवन विमानस्थलबाट साढे ३३ किलो सुन हराए पछि गोरेले खोजी गर्ने क्रममा शाक्यको हत्या गरेका थिए । यो गिरोहले विभिन्न मितिमा ३८ क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट नेपाल भित्र्याएको खुलेको थियो ।

सुन तस्करी र हत्या प्रकरणको अनुसन्धानको क्रममा गोरेसँग बार्गेनिङ गरेको आरोपमा एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल, पूर्व डिआइजी गोविन्द निरौला सहित २९ जना पक्राउ परेका थिए । ती मध्ये डिएसपी राउत पुर्पक्षको लागि झुम्का कारागारमा छन् भने लोहनी, खानाल, केसी र सञ्जेल उच्च अदालतको आदेशपछि काममा फर्किसकेका छन् ।स्रोतःअनलाइनखबर